ठगी आरोपमा कलाकार र पूर्वएसएसपी पक्राउ परेका छन्। थुनामा रहेका चिनियाँलाई छुटाइदिने भन्दै पैसा असुलेको आरोपमा कलाकार नारद खतिवडा तथा सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपाल गुरुङ पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उनीहरूलाई पक्राउ गरेको हो। अध्यागमन विभागले पक्राउ गरेका चिनियाँलाई छुटाइदिने भन्दै उनीहरूले ७२ लाखमा डिल गरेको र नौ लाख लिइसकेको समेत खुलेको छ।
यसमा संलग्न उदयपुरका बिक्रमबहादुर थापा पनि पक्राउ परेको एसपी रामेश्वर कार्कीले बताए। पर्यटक भिसा आएर शंकास्पद गतिविधिमा संलग्न नौ चिनियाँलाई अध्यागमन विभागले दुई साताअघि पक्राउ गरेको थियो। उनीहरूलाई सेटिङ मिलाएर छुटाइदिने भन्दै डिल गरेर पैसा असुलेका हुन्।









