कावासोती, भदौ १८ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकको कावासोतीमा खण्डमा सडकको ढाँचा परिवर्तन गर्न सरोकारवालाले माग गरेका छन् । जिल्ला समन्वय समिति, कावासोती नगरपालिका र नवलपुर उद्योग वाणिज्य संघको बैठकले सडक आयोजनालाई ढाँचा परिवर्छतन गर्न माग गरेको हो ।
बैठकले सडकको आवागमन तथा स्थानीयवासीलाई परेको समस्या समाधानका लागि नारायणगढ–बुटवल सडक आयोजनासँग विभिन्न संरचना थप तथा व्यवस्थापनका लागि माग गर्ने निर्णय गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोखरेलले बताए ।
बैठकले कावासोती नगरपालिकास्थित सभापति चोक आसपास साना सवारी साधनका लागि मिनी यू–टर्न थप गर्न नारायणगढ–बुटवल सडक आयोजनासँग माग गर्ने निर्णय गरेको छ। हालको सडक संरचनाका कारण साना सवारी साधनलाई आवतजावतमा समस्या हुने भएकाले मिनी यू–टर्न आवश्यक रहेको बैठकको निष्कर्ष निकालेको अध्यक्ष पोखरेलले बताए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय अगाडि जेब्रा क्रसिङ थप गर्न पनि सडक आयोजनासँग माग गर्ने निर्णय गरिएको छ। पैदलयात्रुको सडक वारपारलाई सहज र सुरक्षित बनाउन उक्त स्थानमा जेब्रा क्रसिङ आवश्यक रहेको जनाइएको छ।
बैठकले कावासोती नगरपालिकाभित्र निर्माण गर्न लागिएको सर्भिस लेन पछाडि राखिने रेलिङ (ब्यारियर) का कारण सडकसँग जोडिएका निजी घर तथा व्यवसायिक फर्ममा प्रवेश गर्न र सवारी साधन वारपार गर्न समस्या हुने भएकाले सम्बन्धित क्षेत्रमा रेलिङ नराख्न आयोजनालाई पत्राचार गर्ने निर्णय गरेको छ।
साथै, सम्बन्धित स्थानीय तहलाई समेत सोही विषयमा निर्णय गरी आयोजनालाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय गरिएको पोखरेलले बताए ।
यसैगरी, कावासोती नगरपालिका अन्तर्गत कुमारवर्ती क्याम्पसदेखि इन्द्रचोकसम्मको ढल निकासको समस्या समाधान गर्न पूर्व–पश्चिम राजमार्गमा निर्माण गरिएको ढल प्रणालीमा निकास जोड्ने व्यवस्था मिलाउन पनि माग गर्ने निर्णय बैठकले गरेको छ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा स्थानीय बासिन्दा, व्यवसायी तथा सवारी चालकले भोग्दै आएका व्यावहारिक समस्यालाई सम्बोधन गर्न बैठकले यी निर्णय गरेको हो। स्थानीय तह र सडक आयोजनाबीच आवश्यक समन्वय गरी निर्णय कार्यान्वयनका लागि पहल गरिने पोखरेलको भनाइ छ ।









