दीपक भट्टराई
नवलपुर, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नवलपुरको मध्यविन्दु नगरपालिका–५ बाघखोरका बाबुछोरा गंगाराम मुखिया र विशाल मुखिया सम्पर्कविहीन छन्।
रोजगारीका लागि रसुवा पुगेका ४७ वर्षीय गंगाराम र उनका २२ वर्षीय छोरा विशालको अवस्था सात दिन बितिसक्दा पनि पत्ता लाग्न सकेको छैन। बाढी आउनुअघि बिहानै श्रीमतीसँग फोनमा कुरा गरेका गंगारामले भनेका थिए, ‘अब १२ दिनमा काम सकिन्छ, काम सकिनेबित्तिकै घर फर्किन्छु।ु त्यसपछि आएको बाढीले बाबुछोरालाई परिवारबाट सम्पर्कविहीन बनाएको छ।
नवलपुरको मध्यविन्दु नगरपालिका–५ बाघखोरका ४७ वर्षीय गंगाराम मुखिया र उनका २२ वर्षीय छोरा विशाल मुखिया भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
घरको आर्थिक अवस्था धान्न रोजगारीका लागि रसुवा पुगेका बाबु गंगारामले आफू काम गरिरहेको स्थानमा छोरालाई समेत बोलाएका थिए। गंगाराम फागुन २४ गते रसुवा पुगेका थिए भने उनका छोरा विशाल जेठ ४ गते रोजगारीकै सिलसिलामा रसुवा पुगेका थिए।
उनीहरू रसुवामा सञ्चालित तेन्जिन शेर्पा हाइड्रोपावरमा काम गर्दै आएका थिए। गंगारामका श्रीमती मिनाकुमारी मुखियाका अनुसार भोटेकोशीमा बाढी आएको दिन बिहान करिब ७ बजे श्रीमानसँग फोनमा कुराकानी भएको थियो। फोनमा गंगारामले आफू छोरा काममा निस्कन लागेको बताएका थिए।
गंगारामसँग बिहान फोनमा कुरा गरेपछि मिनाकुमारी पनि आफ्नो काममा लागिन्। तर केही घण्टापछि छिमेकीले फोन गरेर रसुवामा ठूलो बाढी आएको खबर सुनाए। ‘बिहान ११ बजेतिर छिमेकीले फोन गरेर रसुवामा बाढी आएको खबर दिनुभयो,’ मिनाकुमारीले भनिन्, ‘त्यसपछि श्रीमान र छोरालाई फोन गरेँ, तर दुवै जनासँग सम्पर्क हुन सकेन।’
सम्पर्कविहीन भएका बाबुछोराको अवस्थाबारे अहिलेसम्म परिवारले कुनै जानकारी पाउन सकेको छैन। घरमा श्रीमान र छोराको खबरको प्रतीक्षा गर्दै बसेकी मिनाकुमारीका लागि हरेक दिन झनै भारी बन्दै गएको छ। बिहान काममा निस्कनुअघि श्रीमानले दिएको ‘काम सकिएपछि घर फर्किन्छु’ भन्ने आश्वासन अहिले उनको मनमा झनै गहिरो गरी बसेको छ।
एकातिर श्रीमान र छोराको अवस्था थाहा नहुनुको पीडा छ भने अर्कोतर्फ कहिल्यै फोन आउला कि भन्ने आशामा मोबाइलतिर हेरिरहनुपर्ने बाध्यता।
गंगाराम एक छोरा र एक छोरीका बाबु हुन्। परिवारको दैनिकी र भविष्य धान्ने आशामा उनी रोजगारीका लागि रसुवा पुगेका थिए। आफू पुगेको केही समयपछि कामका लागि छोरालाई पनि रसुवा बोलाएका गंगाराम र विशाल अहिले एउटै विपत्तिपछि परिवारबाट सम्पर्क बिहिन भएका छन
घरमा आमा मिनाकुमारी मात्र होइन, छोरी यमकुमारी मुखिया पनि आफ्ना बाबु गंगाराम र दाजु विशालको बाटो हेरिरहेकी छिन्। बाढी आएको सात दिन बितिसक्दा पनि बाबु र दाजुको कुनै खबर नआएपछि उनको मनमा चिन्ता र पीडा झनै गहिरिँदै गएको छ।
हरेकपटक मोबाइल बज्दा कतै बाबु वा दाजुको खबर पो आयो कि भन्ने आशा पलाउँछ, उनले भनिन् । बाबु र दाजु सकुशल घर फर्किएर आउने दिनको प्रतीक्षामा यमकुमारीका आँखा अझै बाटोतिर छन्। परिवारको एउटै चाहना छ—भोटेकोशीको बाढीपछि हराएका आफ्ना दुई सदस्यको कुनै खबर सुनियोस्, उनीहरू सकुशल फर्किऊन्।
भोटेकोशीको बाढीले धेरै परिवारका आफन्त खोसेको छ। नवलपुरको मध्यविन्दु–५ बाघखोरमा भने गंगाराम र विशालका परिवारका लागि समय रोकिएको जस्तै भएको छ। परिवारको एउटै आशा छ—कतैबाट उनीहरू सकुशल रहेको खबर आओस्।
तर दिन बित्दै जाँदा आशासँगै चिन्ता पनि बढ्दै गएको छ। मिनाकुमारीको कान अहिले पनि त्यही एउटा फोनको प्रतीक्षामा छ, ‘हामी सुरक्षित छौँ’ भन्ने आवाज सुन्नका लागि ।









