नवलपुर, भदौ १४ गते ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित बोकेको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासेती–१६ डण्डामा ट्रकसँग ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ३२ जना घाइते भएका छन् ।
रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ जाँदै गरेको लु प्र ०१÷००१ ख ०३८६ नम्बरको बस बिरगञ्जबाट बुटवलतर्फ जाने क्रममा खाना खानको लागि राजमार्गमा रोकि राखेको ना ८ ख ६१४५ नम्बरको फलामको पाईप लोड भएको ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसमा ३८ जान सवार रहेकामध्ये ३२ जना घाइते भई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए । दुई जनालाई थप उपचारका लागि चितवन रेफर गरिएको छ ।
दुर्घटनामा बसका चालक सल्यान कालिमाटी गाउँपालिका –६ बस्ने २७ वर्षका तुलाराम थापा मगर, सहचालक बर्दिया बासगडी –६ का २३ वर्षीय अनिष गुरुङ, रुकुमपूर्व शारदा नगरपालिका –६ का ३६ वर्षीया ममता परियार, सुर्खेत बिरेन्द्रनगर नगरपालिका –५ का ३३ वर्षीया रिता गन्दर्भ घाइते भएका छन् ।
त्यस्तै, बाँके कोहलपुर –११ की ३९ वर्षीया श्यामु बि.क., अछाम पञ्चदेवल नगरपालिका –८ का २६ वर्षीय बिनोद नेपाली, बर्दिया राजापुर –७ का २२ वर्षीय निरज थारु, बाँके बैजनाथ –३ का वर्ष १९ का करण सिङ ठकुरी, जुम्ला कन्कासुन्दरी–५ का बर्ष २८ का महेन्द्र कडरा, सुर्खेत बिरेन्द्रनगर–५ बस्ने २९ वर्षीया सपना बैदार र पश्चिम रुकुम चौरजहारी नगरपालिका–११ बस्ने बर्ष ३७ का तिलक परियार घाइते भएका छन् ।
त्यस्तै, कालिकोट खाडचन्द्र नगरपालिका –१ बस्ने बर्ष ३२ का लक्ष्मण परियार, बर्दिया बाँसगढी –१ बस्ने २३ वर्षकी अमृता परियार, बाराबर्दिया नगरपालिका –१ बस्ने ३३ वर्षका राजकुमार चौधरी, २७ वर्षका दिनेशकुमार थारु, २५ वर्षीय छबिलाल चौधरी, ३२ वर्षका सन्तोष थारु, बाँके बैजनाथ गाउँपालिका –३ का बर्ष २० की तुलसी सिंह ठकुरी, बर्दिया बाराबर्दिया –१ बस्ने ३२ वर्षकी रुनकुमार चौधरी, ३३ वर्षका रामगोपाल थारु, ३० वर्षका राकेश चौधरी, ३३ वर्षका रामकृष्ण चौधरी, २५ वर्षका कृष्णप्रसाद चौधरी, वर्ष ३८ का मरिचमान थारु, वर्ष ४२ का पूर्णराम थारु र ३३ वर्षका लहान थारु घाइते भएको प्रहरीले जनाएको छ ।

सल्यान कालीमाटी गाउँपालिका –५ काल्चे बस्ने बर्ष २८ का कुमबहादुर घर्तिमगर, ३८ वर्षका मणिराम थारु, २४ वर्षका नरेश थारु, २९ वर्षका श्रीराम चौधरी, वर्ष ३५ का करण थारु, बाँके कोहलपुरका २१ वर्षीय नविन शर्मा घाइते भएका छन् । घाइतेमध्ये रिता गन्दर्भ र तिलक परियारलाई थप उपचारका लागि पुरानो मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक बारा निजगढ नगरपालिका –११ का २५ वर्षका अभिषेक कुँवर प्रहरी नियन्त्रणमा रहेको र बसचालक पनि डिस्चार्ज भई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।








