नवलपुर, भदौ १५ गते । भोटेकोशी बाढीले बगाएर ल्याएकामध्ये नवलपुरस्थित नारायणी नदी किनारमा दुई सय सात जनाको शव फेला परेको छ । जसमध्ये १५ जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार बिहानसम्म भेटिएका शवमध्ये ७१ पुरुष, ४७ महिला २५ बालबालिका र ६४ वटा मावन अंग फेला परेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
पहिचान भएका शव परिवारलाई बुझाइएको छ । जसमा मकवानपुरको हेटौडा उपमहानगरपालिकाका २४ वर्षीय सुमन गोले र ३६ वर्षीय उद्धव खड्का, गोरखा पालुङटार–५ का ४२ वर्षीया सुजाता कौडाल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षका केदार पण्डित, चितवनको माडी–७ का विमल काफ्ले, अर्घाखाँचीको पाणिनी–७ का ४५ वर्षीय नारायण बहादुर थापा र नवलपरासी सुस्ता–१ का ३७ वर्षका यादव भण्डारी रहेको पण्डितले जानकारी दिए ।
त्यस्तै धादिङ खनियावास–५ का ४२ वर्षीय संजोग घर्तीमगर, नुवाकोटको बिदुर–७ का ५६ वर्षीया शारदा ढकाल र वडा नम्बर १० का प्रतिन्स तामाङ, सप्तरी खड्क–५ का २८ वर्षका सन्तोष चौधरी, काभे्र पाँचखाल–६ का ४६ वर्षका डिग बहादुर कायस्थ, काठमाडौं बौद्धका ३४ वर्षका राजु सुनार र रसुवाको आमाछोदिङमो–३ का हीमा लोप्चलको पहिचान खुलेको प्रहरी नायव उपरीक्षक पण्डितको भनाइ छ ।
पहिचान नभएका शव भने कावासोतीको ज्यातीकुञ्ज सामुदायिक वन र देवचुलीको दिब्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनी गाडेर अस्थायी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शवको खोजी कार्य भने जारी रहेको छ ।









