पालुङटारका मेयर आफ्ना वेपत्ता नागरिक खोज्दै नवलपुरसम्म

नवलपुर, भदौ १५ गते । गोरखाको पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन आफ्नो पालिकाका वेपत्ता नागरिक खोज्दै नवलपुर आइपुगेका छन् । भदौ १० गते ईभी बस रिजर्भ गरेर गोसाईकुण्ड तीर्थयात्रा जाने क्रममा ३८ जना सवार ईभी बस भोटेकोशी बाढीमा परेको थियो ।

बसमा सवारमध्ये ६ जना हामफालेर बाँच्न सफल भएका थिएन भने बाँकी ३२ जना बाढीमा परेका थिए । चार जनाको शव प्राप्त भएपनि अन्य अझैसम्म वेपत्ता रहेको नगरप्रमुख चिन्तनले बताए । तीनवटा ईभी बस रिजर्भ गरेर गोसाईकुण्ड गएकोमा दुईवटा बस भने संयोगले भोटेकोशी बाढी छल्न सफल भएका थिए ।

३२ मध्ये ३० जना पालुङटार नगरपालिकाका र दुई जना भानु नगरपालिकाका वासिन्दा रहेको नगरप्रमुख चिन्तनले जानकारी दिए । धेरै जसोका परिवार नै तीर्थयात्रामा निस्केकाले खोजी गर्न जाने समेत नरहेकाले आफै आफ्ना नागरिक खोज्न हिडेको उनले बताए । उनका अनुसार अहिले छोरीज्वाँई, ईस्टमित्रले घरको रेखदेख गरिरकेका छन् ।

हालसम्म ४२ वर्षीया सुजाता कँडेल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षका केदार पण्डितको शव नवलपुरमा फेला परेको र सोनु कुमालको नवलपरासीबाट शव फेला परेपनि अन्य २८ जना अझैसम्म वेपत्ता रहेको उनले बताए । आफ्ना नागरिकको खोजीका लागि नगरपालिकाले सबै संयन्त्र परिचालन गरिरहेको नगरप्रमुख चिन्तनको भनाइ छ ।

भदौ १० गते बिहान साढे ४ बजे पालुङटार नगरपालिका–५, नौखोरका ३६ जना गोसाइँकुण्ड यात्रामा निस्किएका थिए । एउटै गाउँका उनीहरू एउटै बस चढेर गोसाइँकुण्ड जाँदै थिए । त्रिशूली नदी पार गरेपछि भैँसेतिर पुग्दा एक यात्रुले पिसाब लागेकाले गाडी रोक्न आग्रह गरेपछि त्यही क्षण आएको भोटेकोशीको भेलले बगाएको हामफालेर बाँच्न सफल रविन्द्र देवकोटाले बताए ।

हेर्नुहोस् भिडियो