बोमलाल गिरी
नवलपुर, भदौ १८ गते । भदौ १० गतेको विध्वंसकारी भोटेकोशी बाढीमा नवलपुरबाट २० जना वेपत्ता भएका छन् । मध्यविन्दु नगरपालिकाका १२, कावासोतीका ३, विनयी त्रिवेणीका ३ तथा गैँडाकोट र देवचुली नगरपालिकाका एक एक जना वेपक्ताको सूचिमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कावासोती–३ का नारायण गैरे भने सकुसल सम्पर्कमा आएका छन् ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार मध्यविन्दु–१ सेतापानीका हेम बहादुर चौधरी, हुसन बहादुर थारु र कालिराम महतो थारु वेपत्ता भएका छन् । त्यस्तै मध्यविन्दु–५ बाघखोरका जीवन विक, गंगाराम मुखिया, विशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एकदेव महतो, नुम नारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु वेपत्ता रहेको प्रजिअ उपाध्यायले जानकारी दिए ।
उनीहरु सबै जना रसुवागढीको टिमुरेस्थित तेन्जिङ शेर्पा हाइड्रो पावर विल्डिङ कन्स्ट्रक्सनमा कार्यरत थिए ।
त्यस्तै कावासोती–१० का भुवन विक, ८ का समिर पौडेल, ६ का विष्णुप्रसाद भुसाल, गैँडाकोट १५ का रावल घर्ती मगर, विनयी त्रिवेणी–४ का अमृत उप्रेती, ५ का नन्द बहादुर भाट क्षेत्री, र १ का दिनेश पंगेनी वेपत्ता भएको प्रजिअ उपाध्यायाले जानकारी दिए ।
उनीहरुमध्ये विनयी त्रिवेणी–४ का उप्रेती र कावासोती ६ का भुसाल रसुवा भन्सार कार्यालयमा कार्यरत थिए भने बाँकी सबै विभिन्न जलविद्युत आयोजनाहरुमा काम गर्न गएका थिए ।
खोजिका लागि उनीहरुको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको र अन्य जिल्लाहरुसँग पनि समन्वय भइरहेको उपाध्यायले बताए । एउटै गाउँबाट १० जना वेपत्ता भएको मध्यविन्दु–५ को बाघखोरमा भने सन्नटा छाएको छ ।









