भोटेकोसीको सिरानमा बनेको ताल रित्तियो, सिन्ह्वाले सार्वजनिक गर्यो तस्बिर

भयानक विपद् निम्त्याउने गरी भदौ १० गते बाढी आएको भोटेकोसी नदीको सिरानमा बनेको ताल रित्तिएको छ। चीनको तिब्बत स्वायत्त क्षेत्रको केरुङ बन्दरगाहको माथिल्लो क्षेत्रमा बनेको ताल (ब्यारियर लेक) को पानी निकास भएर रित्तिएको चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले उल्लेख गरेको छ।

सिन्ह्वाले तिब्बत क्षेत्रको आपतकालीन व्यवस्थापन विभागलाई उदृत गर्दै ताल क्षेत्र खाली भएको तस्बिर पनि प्रकाशन गरेको छ।

तालको पानी निकास भएसँगै नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको बताइएको छ। यससँगै तालका कारण उत्पन्न हुनसक्ने जोखिम पनि हटेको छ।

पहिरोका कारण नदीको बहाव अवरुद्ध भएपछि बनेको तालमा २० लाख घनमिटरभन्दा बढी पानी जमेको बताइएको थियो। ताल फुट्न सक्ने जोखिमलाई लिएर चिनियाँ अधिकारीहरूले निरन्तर पानीको सतह, नदीको बहाव र आसपासको भू-भागको निगरानी गरिरहेका थिए।

हाल नदीको बहाव सामान्य अवस्थामा फर्किएपछि तत्कालका लागि जोखिम नियन्त्रणमा आएको चिनियाँ अधिकारीहरूले बताएको सिन्ह्वाले उल्लेख गरेको छ।