आफ्नै पार्टीका सांसद भेंडाबाख्रा जसरी बिक्रि भए : राजेन्द्र लिङ्देन

नवलपुर, भदौ २० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीका सांसद भेडाबाख्रा जस्तै बिक्रि भएको गम्भीर आरोप लगाएका छन् । राप्रपा नवलपुरको जिल्ला अधिवेशनलाई सदरमुकाम कावासोतीमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रको निर्देशन विपरित राप्रपा बागमती प्रदेशले नेकपा र नेकपा एमालेको गठबन्धन सरकारलाई समर्थन गरेपछि अध्यक्ष लिङदेनले आक्रोस पोखेका हुन् । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा किरण थापा मगरलाई समर्थन गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको थियो । उक्त निर्णयपछि राप्रपामा बिबाद चुलिएको छ ।

‘‘जनताले विश्वास गरेर राप्रपालाई भोट दिए, जुन भोटले उनीहरु राप्रपाको सांसद बने,’’ अध्यक्ष लिङदेनले भने, ‘‘तर उनीहरु बागमती प्रदेशमा भेडाबाख्रा जसरी बिक्रि भइरहेका छन् ।’’ राप्रपा बागमतीका सांसदले पार्टी निर्देशन विपरित वर्तमान सरकारलाई समर्थन गरेर जघन्य अपराध गरेको समेत लिङदेनले आरोप लगाए ।

त्यो अनुशासन पालना गराउने जिम्मेवारी पार्टी अध्यक्षका नाताले आफ्नो भएको भन्दै उनले आफ्नो कार्यकालभरी नै आफू कठोर ढंगले प्रस्तुत हुने बताए । ‘‘म जतिदिन अध्यक्ष रहन्छु, त्यतिञ्जेल यो विषयमा कठोर ढंगले प्रस्तुत हुनेछु,’’ उनले भने । पार्टीलाई धोका दिनेहरु पार्टी छोडेर जान सक्ने भन्दै उनले यसले राप्रपालाई कुनै असर नगर्ने दाबी गरे ।

जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि भोलि मतदान हुने कार्यतालिका छ । सहमतिको प्रयास भइरहेको र सहमति नभएमा निर्वाचन प्रकृयाबाट नेतृत्व चयन हुने निवर्तमान अध्यक्ष विष्णु अधिकारीले बताए । अध्यक्षका लागि निर्वमान अध्यक्षसहित तीन जनाको चर्चा रहेको राप्रपाले जनाएको छ ।