ओमानलाई ६० रनमै अलआउट गर्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गर्दै फाइनल प्रवेश गरेको छ ।

नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६(४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६.४ को अवस्थामा पुगेको थियो भने १४७ रनमा अलआउट नै भयो ।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८।४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १(१ विकेट लिए ।

नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ । सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।