गुडिरहेको इभी कारमा आगो लाग्दा एकजनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक इभी कारमा आगो लाग्दा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ६ बजेको समयमा बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा  बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो । पूर्वबाट पश्चिमतर्फ गुडिरहेको कारभित्र नै रहेका एक जनाको जलेर मृत्यु भएको छ ।

दमकलको सहायताले आगो नियन्त्रणमा लिएपछि गाडीभित्र एक जना जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको परिचय खुल्न सकेको छैन । आगलागीबाट गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ । कारमा कसरी आगो लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।