नवलपुर, भदौ २२ गते । गत भदौ १० गते भोटेकोशीमा आएको विधंसकारी बाढीमा परि ज्यान गुमाएकाहरुको सम्झनामा नवलपुरका विभिन्न स्थानमा दीप प्रज्वलन गरी श्रद्धान्जली अर्पण गरिएको छ ।
१०५ शवलाई अस्थायी रुपमा व्यवस्थापन गरिएको कावासोतीको ज्योतीकुञ्ज सामुदायिक वन र ५५ शव व्यवस्थापन गरिएको देवचुलीको दिब्य मध्यवर्ती सामुदायिक वन, मध्यविन्दु प्रादेशिक अस्पताल लगायत स्थानमा दीप प्रज्वलन गरी मृतकप्रति श्रद्धान्जली अर्पण गरिएको हो ।
त्यस्तै विभिन्न संघ संस्थाले पनि आज १३औं दिनको पुण्य तिथि पारेर जिल्लाका विभिन्न स्थानमा श्रद्धान्जली सभा गरेका छन् । कावासोतीको ज्योतीकुञ्ज सामुदायिक वनमा भएको श्रद्धान्जली सभालाई सम्बोधन गलर्दै प्रतिनिधि सभा सदस्य राजन गौतमले अकल्पनीय बिपत्तिमा देशी विदेशी गरी सयौं जनाले ज्यान गुमाएको, हजारौं विस्थापित र घाइते भई उपचाररत रहेको भन्दै प्राकृतिक बिपत्ले सानो ठुलो कसैलाई नछोड्ने बताए ।
यस्तो बेलामा सुरक्षाकर्मी र स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै सांसद गौतमले उहाँहरुको काम अनुकरणीय भएको उल्लेख गरे । बिपत्तिको बेला कुनै दल र पार्टी नभनी सबै नगारिक, सम्पूर्ण सुरक्षाकर्मी, तीनै तहका सरकार एक भएर लागेकाले बिपतलाई सामना गर्न सकिएको उनको भनाइ छ ।
कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले शोकलाई शक्तिमा बदल्दै फेरी देश बनाउने अभियानमा लाग्नु पर्ने बताए । नवलपुर उद्योगा वाणिज्य संघका अध्यक्ष सागर पोख्रेलले १३ दिन बितिसक्दा पनि मृतकको संख्या समेत एकीन हुन नसकेको अवस्थामा शोकसभा गर्नु पर्ने दुखद् अवस्था रहेको भन्दै अव फेरी एकजुट हुँदै आगामी दिनमा आउन सक्ने बिपत्तिको सामना गर्न तयार हुनु पर्ने बताए ।
नवलपुरमा हालसम्म २२३ जनाको शव फेला परेको छ । उनीहरुले घाइतेको सिघ्र स्वास्थय लाभको कामना गर्दै र बेपत्ताहरुकाे खोजि कार्यलाई तिब्रता दिन पनि सरकारसँग माग गरेका छन् ।









