बोमलाल गिरी
नवलपुर, भदौ २४ गते । वि.सं. २०१५ सालको आमनिर्वाचन प्रचार र संगठन निर्माणका क्रममा नवलपुरको डण्डा आइपुग्नु भएका बीपी कोइरालालाई भेट्दा दुलारीप्रसाद महतो जम्मा १२ वर्षको थिए । त्यही भेटमा बीपीले स्नेही भावले ‘कान्छा’ भनेर दिएको नामले उनको जीवनको बाटो मात्र बदलेन, २०१८ सालको क्रान्तिमा १५ वर्षकै उमेरमा काँधमा बन्दुक भिरेर ‘भरतपुर गेस्ट हाउस काण्ड’को अग्र मोर्चामा उभ्याइदियो ।
नवलपुरको कावासोती–१४ का महतो आज आठ दशकको उमेर पार गरिसक्दा पनि कुनै पद र लाभको दौडमा छैनन् । तर उनको स्मृतिमा नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा ओझेल परेको इतिहास अझै जीवन्त छ । बीपीको नाम लिनासाथ दुलारी केहीबेर गम खाए । उनका आँखा रसाए अनि पुराना दिन सम्झदै भावुक बनेर भने, “बीपीको सरलताको के कुरा गर्नु ! त्यस्तो मान्छे मैले आजसम्म देखेको छैन, उहाँलाई महामानव त्यसै भनिएको होइन रहेछ, हामीले त प्रत्यक्ष बीपीसँग संगत ग¥यौँ, उहाँकै आदेश र प्रजातन्त्र पुनःस्थापनाका लागि बन्दुकसम्म उठायौं ।”
वि.सं. २०१५ सालमा देश पहिलो आमनिर्वाचनको संघारमा थियो । नेपाली कांग्रेस गाउँ–गाउँ पुगेर संगठन विस्तार र चुनावी अभियानमा होमिएको थियो । तत्कालीन पाल्ही पूर्व निर्वाचन क्षेत्र नम्बर ५७ (अहिलेको नवलपुर) मा कांग्रेसका तर्फबाट पृथ्वीराज कँडेल उम्मेद्वार थिए । उक्त निर्वाचनमा कंडेल ६ हजार ८११ मत ल्याएर निर्वाचित भएका थिए ।
त्यही चुनावी दौडाहाका क्रममा बीपी कोइराला र नेता श्रीभद्र शर्मा नवलपुर आएका थिए । त्यतिबेला स्कुल पढ्दै गरेका १२ वर्षे बालक दुलारीलाई सोही क्रममा बीपीसँग भेट्ने दुर्लभ अवसर मिल्यो । “श्रीभद्र शर्माले बीपी आउँदै हुनुहुन्छ भनेर खबर ल्याएका थिए । हामी जंगलको बाटो हुँदै दौडिएर डण्डा पुग्यौँ,” दुलारी सम्झन्छन् ।

डण्डामा बीपी स्थानीय डिल्लीराम चौधरीको घरमा बसेका थिए । दुलारी, चौधरी र सुबेदार प्रेमलाल सहितका युवाले त्यहीँ बीपीलाई भेटे । बीपीले उनीहरूलाई संगठन, प्रजातन्त्र र जनताको अधिकारबारे प्रशिक्षण दिए । त्यो संक्षिप्त प्रशिक्षणले कलिला बालक दुलारीको जीवनको बाटोनै बदलिदियो । “बीपीको कुरा सुनेपछि देशका लागि केही गर्ने मान्छे यही हो भन्ने विश्वास जाग्यो,” उनले भने ।
त्यसपछि दुलारी चुनावी प्रचारमा सक्रिय भए । स्कुल पढ्दै गरेका उनी साथीहरूसँग गाउँ–गाउँ पुगेर पर्चा बाँड्ने, मतदाता भेट्ने र कांग्रेसको पक्षमा जनमत बनाउने काममा लागे । तर, त्यो समय सहज थिएन । गाउँमा जमिन्दारहरूको दबदबा थियो । दिउँसो जमिन्दारको आदेशमा भवानीशंकर (स्वतन्त्र उम्मेदवार) को प्रचार सामग्री बाँड्नुपर्ने बाध्यात्मक परिस्थिति हुन्थ्यो भने राति गुप्त रूपमा पृथ्वीराज कँडेलको पक्षमा प्रचारमा निस्कन्थे । “दिउँसो एउटा परिस्थिति हुन्थ्यो, तर राति हामी आफ्नो विश्वासको काम गथ्र्यौं,” संघर्षका ती दिन सम्झँदै उनले भने ।
“काठमाडौँ आउँदा माछा लिएर आउ है कान्छा !”
पछि जेलबाट छुटेपछि भारत निर्वासनमा जानुअघि भूमिगत राजनीतिक गतिविधिका क्रममा बीपी फेरि नवलपुर आउँदा दुलारीप्रसाद महतोकै घरमा बसेको स्मरण उनमा ताजै छ । ‘‘घरमा जे पाक्यो त्यही खाने, सामान्य ओछ्यानमा सुत्ने र आफैँ इनारबाट पानी निकालेर नुहाउने गर्नुहुन्थ्यो,’’ दुलारीले भने, ‘‘उहाँले मलाइ मायाले ‘कान्छा’ भनेर बोलाउँदै अब कान्छालाई म पढाउँछु’’ भन्नुहुन्थ्यो ।”
बीपी गाउँ–गाउँ संगठन विस्तारमा निस्कँदा दुलारी पनि सँगै हिँड्थे । साँढ, ट्याङ्गरी, बद्रुवा, कोल्हुवा र सर्दीसम्म पुगेर संगठन निर्माणको काम गर्थे । बीपीलाई स्थानीय माछा मन पर्ने भएकाले दुलारी आफैँ कुलोमा पसेर समातेको माछा खुवाउने गरेको स्मरण गर्दै भने, “काठमाडौँ आउँदा यस्तै माछा लिएर आउ है कान्छा ।’’
के हो ‘भरतपुर गेस्ट हाउस काण्ड’ ?
वि.सं. २०१५ मा बीपी प्रधानमन्त्री बनेको खबर पाउँदा दुलारी सबैभन्दा धेरै खुशी हुनु भएको थियो । तर, त्यो खुसी लामो समय टिकेन । २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रमाथि धावा बोल्दै निर्वाचित सरकार बर्खास्त गरियो र बीपीलाई पक्राउ गरी जेल हालियो । राजाको यो निरंकुश कदमपछि दुलारी आन्दोलनमा उत्रिए । उनले गाउँका युवासँग मिलेर विरोध प्रदर्शन गर्दा प्रहरीको लाठीसमेत खानुपर्यो ।
२०१८ सालमा नेपाली कांग्रेसले प्रजातन्त्र पुनःस्थापना र बीपीको रिहाइको माग गर्दै देशभर सशस्त्र क्रान्तिको आह्वान ग¥यो । बीपी र पार्टीको त्यही आह्वानमा दुलारी सशस्त्र टोलीसँगै क्रान्तिमा होमिए । “पार्टीको आह्वान र बीपीको रिहाइका लागि जुनसुकै जोखिम मोल्न हामी तयार थियौँ,” दुलारी त्यो क्षण सम्झन्छन् ।

नवलपुरका कांग्रेस नेता सूर्यभक्त अधिकारीको घर गैँडाकोटमा क्रान्तिको गुप्त योजना बनेको थियो । त्यतिबेला नारायणी नदीमा पुल थिएन । दुलारी सहितको टोली नारायणी नदिको भोसरघाट (पिठौली)बाट डुङ्गा चढेर नदी पार ग¥यो । त्यसपछि अहिलेको चितवन राष्ट्रिय निकुञ्जको घना जंगलको बाटो हुँदै मेघौली पुगी भरतपुरतर्फ अघि बढ्यो ।
उनीहरु चर्चित ‘भरतपुर गेस्ट हाउस काण्ड’ (भरतपुर कब्जा अभियान) मा सहभागी हुन त्यसतर्फ लागे । जहाँ शाही सेनाको कडा प्रतिकार र भिडन्तको सामना गर्नुपर्यो । भिडन्तमा धेरै कांग्रेस कार्यकर्ता मारिए । ‘‘हामीलाई बन्दुक चलाउन बीपीले नै सिकाउनु भएको थियो, तर हाम्रा हतियार (राइफल) राम्रा थिएनन्, एक पटक पड्काउँदा फुस्स हुन्थ्यो भने सेनाले एकै पटकमा धेरै गोली चलाउँदा हाम्रा धेरै साथी मारिए, म भने ज्यान जोगाएर फर्किन सफल भएँ ।’’
बीपी भारत निर्वासनमा गएपछि दुलारीलाई पनि बोलाइएको थियो । तर, वृद्धा आमाले भारत जान नदिएपछि उनी नवलपुरमै रोकिए र खेतिपातीमा लागे ।
बीपीसँग पुनर्मिलन र दूरदर्शि सन्देश
आमाले भारत जान रोकेपछि कावासोतीमै खेतिपातीमा रमाएका दुलारीको बीपीसँग वि.सं. २०३६ सालमा चितवनमा पुनर्मिलन भयो । त्यतिबेला देशमा ऐतिहासिक जनमत संग्रहको माहोल थियो । बीपीले नवलपुरबाट आफूसहित केही युवाहरूलाई चितवन बोलाएको दुलारी सम्झन्छन् ।
एक दशक पछिको त्यो भेटमा बीपीले युवाहरूलाई हौसला दिँदै भनेका शब्दहरू दुलारीलाई अझै पनि झल्झली याद आउँछ । “ल केटा हो अब धेरै दुःखको दिन छैन । बहुदलको पक्षमा प्रचार गर र जिताऊँ, प्रजातन्त्र छिट्टै आउँछ ।”
जनमत संग्रहमा अस्वाभाविक रूपमा बहुदलको हार भएपछि दुलारी पुनः बीपीलाई भेट्न काठमाडौं पुगे । त्यतिबेला बीपीसँगै गिरिजाप्रसाद कोइराला पनि थिए । बीपीको स्वास्थ्य दिनानुदिन बिग्रँदै गइरहेको थियो, तर उनको क्रान्तिकारी चेत र प्रजातन्त्र प्रतिको अगाध विश्वास कायमै थियो ।
आफ्नो अस्वस्थताका बीच बीपीले दुलारीलाई भनेको त्यो सन्देश उनको मानसपटलमा अझै ताजा छ । “चिन्ता गर्नुपर्ने केही कारण छैन दुलारी ! म अस्वस्थ हुँदै गएको छु, म नभए पनि तिमीहरूले उसलाई (गिरिजाप्रसादलाई) सबै कुरा भन्नु । बहुदल त यो देशमा आउँछ, आउँछ!” बीपीको त्यो दूरदर्शी कुरा सम्झदै दुलारी एकैछिन घोरिएर भने, “त्यस्तो पछिसम्म देख्ने नेता त अब के जन्मेला र खै !”
देउवालाई सुनाउनै पर्ने सन्देश
बीपीसँग सम्बन्धित धेरै धेरै कुरा दुलारीको मनमा छन् । तर उनले हामीलाई सबै कुरा सुनाउन चाहेनन् । ‘‘म तपाईंलाई आज सबै कुरा सुनाउन्न । केही महत्वपूर्ण कुराहरु छन् जुन कांग्रेस नेता शेर बहादुर देउवालाई भेटेरै सुनाउनु पर्नेछ,’’ उनले भने ।
तर देउवासँग भेटको माहोल नै नबनेको र दुबै नेताको बृद्धावस्था भइसकेकाले भेटेर सुनाउन ढिला हुने हो कि भन्ने चिन्ता उनमा छ । त्यसैले समय बित्दै जाँदा पुराना कुराहरु बिर्सँदै जाने हो कि भनेर उनले महत्वपूर्ण सन्देशहरू डायरीमा टिपोट गर्न थालेको सुनाए ।
-दुलारी महतोसँगको कुराकानीमा आधारित
हेर्नुहोस् भिडियो









