बोमलाल गिरी
नवलपुर, भदौ २५ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नम्बर ६ प्लेगास्थित घाँगी भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुँवा निस्किइरहेको छ । प्लेगा गाँउबाट करिव पाँच सय मिटर दक्षिण पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्रिहेको छ ।
लामो समयदेखि यसरी धुँवा निस्कन थालेपछि स्थानीय त्रसित भएका छन् भने यो विषय संसददेखि सरकारसम्म पुगेको छ । जिल्ला प्रहरी कार्यालयले पनि त्यसको अनुगमन गरिसकेको छ । प्रहरी टोलीले लामो समयदेखि धुँवा निस्किरहेको र त्यसको गन्ध बारुदको जस्तो भएको निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
‘‘हामीले निरीक्षण गर्र्यौ, जमिन भित्रबाट बारुदको जस्तो पीरो गन्ध आउने धुँवा लगातार आइरहेको छ,’’ प्रहरी उपरीक्षक खड्काले भने, ‘‘त्यसको कारण के हो भन्ने हामीलाई पनि थाहा भएन, यो हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो ।’’
हुप्सेकोट ६ का वडाध्यक्ष छम बहादुर सोमै मगरले १५ वर्षअघि पनि यस्तै धुँवा आउने गरेको र एक डेढ वर्षपछि आफै हराएको बताए । तर अहिले फेरी त्यस्तै समस्या देखिएको उनको भनाइ छ ।
यसले स्थानीयमा त्रास सृजना गरेको भन्दै यस विषयमा जिल्ला प्रहरी कार्यालय र गाउँपालिकामा जानकारी गराइसकेको उनले बताए । जंगलको बीचमा सानो पहिरो झरेको भए पनि ठूलो पहिरो नगएको मगरको भनाइ छ ।
पहिरो गएको स्थानबाट करिव एक किलोमिटर उत्तरतर्फ प्लेगामा ३५ घरधुरी रहेको मानव बस्ती छ । यसरी पिरो गन्ध आउने काम नरोकिएपछि जमिनमुनी ग्यास रहेकोले विष्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
‘‘यहाँको यो समस्याका बारेमा हामीलाई पनि पटक–पटक जानकारी गराइएको थियो तर जाडोमा कुहिरो र हिउँदमा डढेलो लागेको हुन सक्ने भन्दै चुप लागेर बस्यौं, पछिल्लो पटकको अनुगमनले त्यो होइन रहेछ भन्ने पुष्टि भयो,’’ अध्यक्ष पाण्डेले भनिन् ।
सरकारले अध्ययन टोली पठाउने
भिरबाट निरन्तर बारुदको जस्तो गन्ध आउने धुँवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नवलपुर–१ का सांसद राजन गौतमले यसलाई असामान्य घटना भएको बताएका छन् । सांसद गौतमले प्रकृतिले हामीलाई केही संकेत दिएको भन्दै सरकारले तत्काल भूगर्भविद, ग्यास रसायस विज्ञ, विपत् व्यवस्थापन विज्ञसहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नु पर्ने माग गरे ।
त्यस लगत्तै सरकारले अध्ययन टोली पठाउने बताएको छ । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेलाई फोन गरेर अध्ययन टोली पठाउने बताएको अध्यक्ष पाण्डेले जानकारी दिइन् ।
‘‘मन्त्रीज्यूले फोन गरेर गाउँपालिकाबाट अध्ययन गर्न माग गरिएको पत्र र भिडियोहरु पठाउनुस्, म अध्ययन टोली पठाउँछु भन्नुभएको छ,’’ अध्यक्ष पाण्डेले भनिन्, ‘‘त्यही अनुसार हामीले सबै डकुमेन्ट पठाएका छौं ।’’
खानी तथा भूगर्भ विभागले पनि यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ । विभागका उपमहानिर्देशक डा गणेशनाथ तिवारीले स्थानीय तहबाट विस्तृत अध्ययनका लागि अनुरोध गरिएमा आफूहरु अध्ययनका लागि आउन तयार भएको बताए । लामो समयदेखि एउटै प्रकृतिको घटना भएकाले खानीसँग सम्बन्धित विषय हुन सक्ने डा तिवारीको भनाइ छ ।
हेर्नुहोस् भिडियो









