फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन् ।
भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ । वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले जनाएको छ । एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ ।
८३ हजारभन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १२ सय भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
फिलिपिन्स जलवायु परिवर्तनका प्रभावहरूका लागि सबैभन्दा जोखिममा परेका राष्ट्रहरु मध्ये परेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । आँधीहरू अझ शक्तिशाली बन्दै गएका छन् ।







