अभिनेता पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै, के आउला फैसला ?

कावासोती । झण्डै ११ महिनादेखि थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज मंगलबार अन्तिम सुनुवाई हुँदैछ । एक नाबालिग किशोरीमाथि यौन दुरुपयोग गरेको आरोपमा थुनामा रहेका अभिनेता शाहको आज तनहुँ जिल्ला अदालतमा अन्तिम सुनुवाई हुन लागेको हो ।

सुनुवाईका लागि यसअघि धेरै पटक पेशी तोकिए पनि पटक–पटक स्थगित हुँदै आएको थियो । मंगलबार भने अभिनेता शाहको तर्फबाट पेशी स्थगित नगराइने भएको छ । अभिनेता शाहका वकिलका अनुसार मंगलबार अन्तिम सुनुवाई हुने सम्भावना छ ।

यसअघि, यही मुद्दामा जिल्ला अदालत नवलपुरले पाँच महिनाअघि नै फैसला गर्दै अभिनेता शाहलाई बलात्कारको आरोपमा सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगको कसुरमा अढाई वर्ष जेल सजायको फैसला गरेको थियो ।

आज हुने अन्तिम सुनुवाईपछि तनहुँ अदालतले गर्ने फैसलाका आधारमा अभिनेता शाह कति समय कारागारमा बस्नु पर्ने हो भन्ने कुराको टुंगो लाग्नेछ ।
अघिल्लो वर्षको फागुन ११ गते शाहविरुद्ध जबरजस्ति करणीको जाहेरी परेपछि फागुन १५ गते उनी स्वयं तनहुँको प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका थिए ।

पीडित नाबालिगले प्रारम्भमा आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् भने पछि नाबालिग किशोरी तथा उनका बुवाले अदालतमा वयान फेरेर बलात्कार नभएको बताएका थिए ।

यस्तै प्रकृतिको मुद्धामा केही दिनअघि क्रिकेटर सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।