नवलपुर, पुष १८ गते । पुष, वनभोजको महिना । अत्याधिक चिसो छ । चौरमा भएका चालिसभन्दा बढी स्टलहरु खचाखच भरिएका छन् । कोही स्टल नपाएर खुल्ला चौरमै आगो तापिरहेका छन् त कोही ठूलो आवाजमा डेग बजाएर नाचिरहेका छन् । कोही भने मदिरामा झुमिरहेका छन् ।
नवलपुरको कावासोती नगरपालिका–१ को पर्यटकीय क्षेत्र पोखरी तालमा शनिवार एउटा फरक दृष्यले धेरैको मन तानिरहेको थियो । गैँडाकोट–१४ नगरटाँडीबाट आएको १५–२० जनाको, आफ्नै जातीय पहिरनमा रहेको एउटा युवा जमात जो आफ्नो सांस्कृतिक परम्परा जोगाउन लागिपरिरहेको छ ।
यो समूह साउण्ड सिस्टमको कोलाहलबाट अलि टाढा एकान्तमा बसेको छ । कसैले खैँजडी, डम्फु, मादल बजाईरहेका छन् त कसैले तालिले लयमा ताल मिलाएर मारुनी गीत गाइरहेका छन् । अनि मारुनीको तालमा झुम परेर नाँचिरहेकी छिन् अमर सेकेन्डरी बोडिङ स्कुलमा युकजीमा अध्ययनरत ६ वर्षीया बालिका साहारा मगर । उनको नृत्यले यस्तो लय र ताल समातेको छ कि लाग्छ उनी तालिम प्राप्त नृत्यङ्गाना हुन् ।
साहाराकी आमा तारा थापा मगरका अनुसार साहाराले कतैबाट नृत्यसम्बन्धि तालिम भने लिएकी छैनन् । ‘‘यति सानो उमेरमा पनि आफ्नो समुदायको कला संस्कृती प्रतिको लगाव देख्दा खुशी लाग्छ,’’ ताराले भनिन्, ‘‘उनी विद्यालयमा पनि यस्ता कार्यक्रममा भाग लिन्छिन्, एक पटक देखेको कुरा फेरी सिकाउन पर्दैन, छिट्टै सिक्ने बानी छ ।’’
बनभोजमा गएको बेला ठूलो आवाजमा हिन्दी, फिल्मी तथा पप र र्यापमा झुम्ने पुस्ताका लागि यो एउटा आफ्नै कला संस्कृति संरक्षण गर्ने प्रयास गरिएको बताउँछन् खैँजडी बजाउँदै गरेका २५ वर्षीय रमेश दर्लामी ।
युवापुस्ताले चासो नदिँदा परापूर्वकालदेखि चल्दै आएको मारुनी, कौरा नाच सङ्कटमा पर्न थालेको गुनासो बढ्न थालेपछि मगर समुदायका युवा यसको संरक्षणमा जुटेका छन् । युवापुस्ता अध्ययन तथा रोजगारीका लागि कतिपय गाउँबाहिर र कोही देशबाहिर जाने क्रम बढेपछि पाका पुस्ताको काँधमा पुगेको जिम्मेवारलिाई गाउँमा उपलब्ध युवाले जिममेवारी वहन गर्ने प्रयास गरेको भनाइ छ अर्का बाद्यवादक टंक दर्लामीको ।
हेर्नुस् भिडियो









