अभिनेता पल शाहले पाए सफाई

जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।

मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानुन व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

शाहले सफाई पाए पनि उनी तत्काल रिहा हुने छैनन् । उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेकोले यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् ।

अघिल्लो वर्षको फागुन ११ गते शाहविरुद्ध जबरजस्ति करणीको जाहेरी परेपछि फागुन १५ गते उनी स्वयं तनहुँको प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका थिए ।

पीडित नाबालिगले प्रारम्भमा आफूलाई जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् भने पछि नाबालिग किशोरी तथा उनका बुवाले अदालतमा वयान फेरेर बलात्कार नभएको बताएका थिए ।

यस्तै प्रकृतिको मुद्धामा केही दिनअघि क्रिकेटर सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।