काठमाडौं । अभिनेता पल शाहलाई तनहु जिल्ला अदालतले सफाइ दिएपछि नायिका पुजा शर्मा खुशीले गदगद बनेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी व्यक्त गरेकी हुन् ।
पल शाहको समाचार बाहिरिएसँगै पुजाले फेसबुकमा लेखेकी छन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ । अहिले खुशीको सिमा रहेन ।’
पल शाह बलात्कार आरोपमा पक्राउ परेदेखि नै पुजाले उनको बचाउमा लगातार अभिव्यक्ति दिँदै आएकी थिइन् । उनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले अभिनय गरेका थिए । पल जेल गएपछि रिलिज भएको यो चलचित्र सुपरहिट भएको थियो ।
पललाई आज तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी जेलमुक्त भने हुन सक्ने छैनन् । शाहले सफाई पाए पनि उनी तत्काल रिहा हुने छैनन् ।
उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेकोले यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् ।









