यी हुन् सरकारले पूर्णता पाएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएपछि पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रवक्ता तोकेको हो ।

सञ्चार मन्त्री सरकारको प्रवक्ता रहने विगतदेखिको प्रचलन हो । सरकारले मन्त्रीहरुले कूटनीतिक नियोग र विदेशी प्रतिनिधिलाई भेट्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने निर्णय गरेको छ । मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि सरकारले यसमा चासो देखाउँदै निर्णय गरेको छ ।

सरकारका उच्च अधिकारीहरुले विदेशी कूटनीतिक आचारसंहिता २०६८ मा रहेको व्यवस्था छ। सरकारले त्यसैलाई कडाइ पूर्वक लागू गर्ने निर्णय गरेको हो । बैठकले विभूषण तथा पदक वितरणका लागि मापदण्ड बनाउन समिति समेत गठन गर्ने निर्णय गरेको छ ।