प्रदीप खड्काले अभिनय गर्ने फिल्म ‘कामिनो’ चार भाषामा, सुटिङ ल्याटिन अमेरिका र ब्राजिलमा पनि हुने

काठमाडौं । नायक प्रदीप खड्काको अभिनय रहेको नयाँ फिल्म ‘कामिनो’ ४ भाषामा रिलिज हुने भएको छ । उक्त फिल्म नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुने भएको हो ।

निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको सुटिङ ब्राजिलमा समेत गर्ने बताइएको छ । एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा क्रिएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् ।

स्क्रिप्ट, टिम र क्यानभास मन परेकाले प्रदीप यो फिल्म गर्न राजी भएको बताइएको छ । प्रदीप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो । फिल्मको हिरोइनलगायत अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।

नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैतको तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्ने छन् । फिल्ममा एसडी योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्सन डिजाइन रहेको छ ।