एजेन्सी । प्रहरीको गोली लागेर घाइते भएका भारतको ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा दासमाथि एक प्रहरीले गोली हानेका थिए ।
आइतबार झारसुगुडाको बज्रराजनगर भन्ने स्थानको गान्धी चोकमा उनीमाथि भारतीय प्रहरीका असईले गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत उपचारका लागि भुवनेश्वरको एक निजी अस्पताल लगिएको थियो ।
चिकित्सकहरुले स्वास्थ्यमन्त्री दासलाई बचाउन कोसिस गरे पनि असफल भएको बताएका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल (बीजेडी) मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका थिए ।







