रहेनन् पाकिस्तानका पूर्व राष्ट्रपति एवं सेनाका पूर्वप्रमुख परवेज मुशर्रफ

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ । ७८ वर्षीय मुसर्रफ एमलोइडोसिस् रोगबाट पीडित थिए । केही दिनयता अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

पाकिस्तानका पूर्व सेनाप्रमुखसमेत रहेका मुसर्रफको निधनमा सेनाले पनि समवेदना दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सैनिक कूमार्फत परवेजले सन् १९९९ मा सासनसत्ता हातमा लिएका थिए ।

पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख मुशर्रफ ७९ वर्षका थिए । सन् १९९९ मा शक्ति हात पारेयता उनी सयौँ हत्या प्रयासमा बच्न सफल भएका छन्। र उनी पश्चिमा विश्व र ईश्लामिक लडाकुहरूबिचको लडाइँमा अग्रपङ्क्तिमा देखिएका थिए।

तर उनको राजनीतिक दल सन् २००८ को निर्वाचनमा पराजय भोगेको थियो र उनीमाथि देशको संविधानलाई गैरकानुनी रूपले निलम्बन गरेको एवं आपत्काल लगाएको आरोप लागेको थियो।

शक्तिमा उदाएको २० वर्षपछि अदालतले उनलाई आफ्नो अनुपस्थितिमा संविधानको उल्लङ्घन गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

सेनामा लामो समय काम गरेपछि सन् १९९८ मा उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेना प्रमुख नियुक्त गरेका थिए। र त्यसको एक वर्षपछि उनले देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाएका थिए।