चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले दिए राजीनामा

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समिति संयोजकबाट नीर शाहले राजीनामा दिएका छन् । अहिलेको बोर्ड नेतृत्वले सल्लाहकार समितिसँग सल्लाह नै नलिइ काम गरेको भन्दै शाहले राजीनामा दिएका हुन् ।

बोर्डले पछिल्लो समय आलंकारिक भूमिकामा सल्लाहकार समितिलाई राख्न खोजेको आफूले महसुस गरेको उनको भनाइ छ । त्यसैले आफू उक्त पदमा बसिरहन नसकेको उनले बताएका छन् ।

केही दिन अघि मात्रै सल्लाहकार समिति सदस्यबाट रवीन्द्र खड्काले पनि राजीनामा दिएका थिए । उनले पनि बोर्डले एकपछि अर्को विवादित निर्णय गर्दै गएको तर त्यसमा सल्लाहकार समितिसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।