चिकित्सकहरु बन्द अस्पताल खोल्न सहमत

काठमाडौं । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा  बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएको हो । शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको थियो । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेको हो ।

सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।

वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी …विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ ।