एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् । रुसी आक्रमणको वर्षदिन पुग्न लाग्दा अमेरिकी राष्ट्रपति बाइडेन किभ पुगेका हुन् । रुसी आक्रमणपछि बाइडेन पहिलो पटक युक्रेन गएका हुन् ।
यसअघि बाइडेन पोल्यान्डका राष्ट्रपति एन्द्रेज दुदासँग भेटवार्ताका लागि वार्सा जाने तय भए पनि उनी अचानक किभ पुगेका हुन् । त्यहाँ बाइडेनले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेट गरेका छन् । जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जो बाइडेन तपाईंलाई किभमा स्वागत छ । तपाईंको यात्रा सम्पूर्ण युक्रेनीहरूका लागि एक अत्यन्त महत्त्वपूर्ण संकेत हो ।’ जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताएका छन् ।
तस्बिर : न्यु भ्वाइस अफ युक्रेन
आगामी फेब्रुअरी २४ मा युक्रेन-रुस युद्धको एक वर्ष पूरा हुँदैछ । तर पनि शान्ति स्थापनाको कुनै छाँटकाँट देखिँदैन । युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयोगले पनि युक्रेनमा १८ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।







