काठमाडौं । रुस र युक्रेनबीच भइरहेको लडाईंले आज एक वर्ष पूरा गरेको छ । रुस-युक्रेन युद्धको एक वर्षे कालखण्डमा दुवै देशले कम्तिमा ९ देखि १६ हजार हाराहारी सैनिक गुमाएको बताइन्छ । अमेरिकाले सबैतर्फका दुई लाख हाराहारीको ज्यान गएको अनुमान गरेको छ । लाखौं विस्थापित भएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघको महासभाले रुस–युक्रेन सो अवसरमा एक प्रस्ताव पारित गर्दै जारी लडाईं रोक्न आह्वान गरेको छ । महासभाका १ सय ९३ सदस्यमध्ये नेपाललगायत एक सय ४१ राष्ट्रले रुसी सेना युक्रेनबाट हट्नुपर्ने राष्ट्र संघको प्रस्तावको पक्षमा मतदान गरेका छन् । तर, रुस, बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली, निकारागुआ र सिरियाले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।
युक्रेनले आफ्ना कम्तीमा सात हजार नागरिक मारिएको बताएको छ । पौने १ करोड युक्रेनी छिमेकी मुलुकहरुमा शरणार्थी जीवन बिताइरहेका छन् ।







