१७ बुँदे माग राखेर तनहुँका किसानले घोषणा गरे आन्दोलन

चितवन । आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नुपरेको भन्दै तनहुँका कृषकले आन्दोलनको घोषणा गरेका छन्।

कृषकले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका हुन्। कृषकले कृषि व्यवसाय र कृषकमाथि परेका समस्या सम्बोधन गर्न माग गरेका छन्। संयुक्त कृषक सङ्घर्ष समिति तनहुँले दमौलीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन्।

नेपाल सरकार, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, बीमा प्राधिकरण तथा बीमा कम्पनीसमक्ष १७ बुँदे माग राख्दै यथाशीघ्र सम्बोधनको पहल गर्न सङ्घर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै माग गरेको हो। कृषकका माग सम्बोधन गर्न सरकार उदासीन देखिए विद्रोहको ज्वाला सल्कने चेतावनी कृषकले दिएका छन्।

कृषकको समस्या समाधानको लागि सरकारले पहल नगरेकोले आइतबारदेखि शान्तिपूर्ण आन्दोलनको कार्यक्रम तय गरिएको सङ्घर्ष समितिका संयोजक मित्र दुराले बताए । कृषिजन्य उत्पादन सस्तो मूल्यमा भारतबाट आउने हुँदा प्रतिस्पर्धा गर्न नसक्दा अधिकांश कृषक पेशाबाट पलायन हुनुपर्ने अवस्था अएको दुराको भनाइ छ ।