सी चिनफीङ चीनको राष्ट्रपतिका रुपमा तेस्रो कार्यकाल सुरु

काठमाडौं । सी चिनफीङ चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गरेका छन् । उनी १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सी चीनको समकालिन राजनीतिमा मात्रै नभइ विश्व राजनीतिमा समेत शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् । योसँगै उनलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुँदै अध्यक्ष भएदेखिनै शक्तिशाली रुपमा उदाएका हुन् ।

यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधानः हटाउने निर्णय गरेको थियो । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । साथै एनपीसीले उनलाई चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल मिलिटरी कमिसनको अध्यक्ष पनि बनाएको छ ।  झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।