नासिर हुसेनले सोमबार १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा थप तीन स्वर्ण जितेका छन्। योसँगै यस प्रतियोगितामा उनको स्वर्ण संख्या पाँच पुगेको छ।
नेपाल पौडी संघले आयोजना जारी प्रतियोगिताको पहिलो दिन नासिरले दुई स्वर्ण पदक जितेका थिए। प्रतियोगिताको दोस्रो दिन नासिरले दुई सय मिटर फ्रिस्टाइल, एक सय मिटर ब्रेस्ट स्ट्रोक र एक सय मिटर बटरफ्लाइमा स्वर्ण जिते। दुई सय मिटर फ्रि स्टाइलमा स्वर्ण जित्ने क्रममा नासिरले दुई मिनेट ३.८० सेकेन्ड खर्चिएका थिए। रजत पदक विजेता इर्भिन श्रेष्ठले दुई मिनेट ८.९४ सेकेन्ड समय खर्चंदा कांस्य पदक विजेता तेन्जिन नामडोल रायन गुरुङले दुई मिनेट ९.०३ सेकेन्ड खर्चिए।
एक सय मिटर ब्रेस्ट स्ट्रोकमा नासिरले एक मिनेट १२.४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते। त्यस्तै विकास कुमाल एक मिनेट १२.६८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए। दीपङ्कर अवाले एक मिनेट १४.६० सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए। एक सय मिटर बटरफ्लाइमा नासिरले ५९.६० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। यस विधामा अनुभव सुब्बाले एक मिनेट ००.२५ सेकेन्डका साथ रजत पदकमा खुम्चिँदा अल्भिन महर्जनले एक मिनेट ५.२९ सेकेन्डका साथ कांस्य पदक प्राप्त गरे।
महिलाततर्फ दुवाना लामाले दुई स्वर्ण र एक रजत प्राप्त गरिन्। दुवानाले दुई सय मिटर फ्रिस्टाइलमा दुई मिनेट १८.०५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। निभा मास्केले दुई मिनेट १९.१५ सेकेन्डमा दूरी पूरा गरिन्। अनुसिया तण्डुकार दुई मिनेट २४.७० सेकेन्ड समयका साथ कांस्य पदक जित्न सफल भइन्। उनले एक सय मिटर ब्रेष्ट स्ट्रोकमा एक मिनेट १८.७७ सेकेन्डका साथ स्वर्ण जितिन्। यस विधामा उपास्ती महर्जनले रजत पदक प्राप्त गरिन्। उनले उक्त दूरी एक मिनेट २३.६३ सेकेन्डमा पूरा गरिन्।
तेस्रो स्थानकी रोयल प्रजापतीले एक मिनेट २६.६७ सेकेन्डमा दूरी पूरा गरिन्। दुवाना एक सय मिटर बटरफ्लाइमा भने रजत पदकमा सीमित भइन्। निभा मास्केले एक मिनेट ९.५१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। दुवानाले भने एक मिनेट १२.३८ सेकेन्ड समय खर्चिइन्। सियरा सुभाङ्गी बजागाईले एक मिनेट २४.१५ सेकेन्डका साथ कांस्य पदक प्राप्त गरिन्।








