भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

एजेन्सी । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले २ वर्षको जेल सजाय सुनाएको छ । उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको हो ।

अदालतले राहुललाई सजायको विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिएको छ । सन् २०१९ मा गान्दीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ ? भनेको आरोप लागेको छ ।

राहुल गान्धीमाथि भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत रहेर मुद्दा दायर गरिएको थियो । भारतीय दण्ड संहिताको धारा ४९९ मा आपराधिक मानहानिको कसुरमा अधिकतम २ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ ।