एजेन्सी । उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ ल्याउन सक्ने आणविक आक्रमण गर्नसक्ने क्षमताको पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको छ । यो ड्रोनले शत्रुको नौसैनिक जहाज र बन्दरगाह ध्वस्त गर्न सक्ने बताइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनको निर्देशनमा यस हप्ता भएको सैन्य अभ्यासका क्रममा यो नयाँ हतियार प्रणालीको परीक्षण गरिएको थियो ।
यो ड्रोनले ठूलो विष्फोट र व्यापक लहर ल्याउन सक्ने बताउँदै उत्तर कोरियाको राज्य सञ्चालित मिडिया केसीएनएले भनेको छ, ‘पानीमुनि आक्रमण गर्ने यो ड्रोन जुनसुकै तटमा र बन्दरगाहमा तैनाथ गर्न सकिन्छ वा जहाजकै सतहमा बाँधेर सञ्चाल गर्न सकिन्छ ।’






