५० करोड डलर क्षतिपूर्ति माग्दै ट्रम्पले हाले आफ्ना पूर्व वकिलविरुद्ध मुद्दा

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिलविरुद्ध मुद्दा दायर गरेका छन्।

पूर्व वकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उनले ५० करोड डलर क्षतिपूर्तको माग गर्दै मुद्दा दायर गरेका हुन्। फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको मुद्दामा कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र मिडियामार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाइएको छ।

एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्रहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप उनले लगाएका छन्।

वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धबारे चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधीन छ।

मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन्। बीबीसीसँगको संवादमा उनले भनेका छन्, ‘कोहेन विचलित हुनेछैनन्, तथ्य र कानूनमाथि हामीलाई विश्वास छ, मुद्दा असफल हुनेछ,’ उनले भनेका छन्।