जापानका प्रधानमन्त्री आवेको हत्यापछि वर्तमान प्रधानमन्त्री किशिदामाथि पनि हत्या प्रयास

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ । शनिबार एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो ।

शनिबार बिहान वाकायामामा आयोजित कार्यक्रममा चुनानी भाषण दिनै लागेका किशिदामाथि ‘स्मोक वा पाइप बम’ फ्याँकिएको जापान टाइम्सले उल्लेख गरेको छ । किशिदा यही महिना हुन लागेको उपचुनावमा लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई सघाउन वाकायामा पुगेका हुन् ।

प्रधानमन्त्री किशिदालाई तत्कालै त्यहाँबाट सुरक्षित रूपमा उद्धार गरिएको थियो । घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक भएका छन्। जापानको सार्वजनिक प्रसारक एनएचकेले घटनास्थलबाट मानिसहरू भागिरहेको दृश्य देखाएको थियो।

गत वर्ष जुलाईमा एउटा सभामा सहभागी भइरहेका बेला जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरिएको थियो । जापानको पश्चिमी भाग नारामा भाषण गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते आबेको उपचारका क्रममा मृत्यु भएको थियो ।