सुडानी सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा २५ जनाको मृत्यु

सुडानको सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् ।

सुडानी सेना र र्यापिड सपोर्ट फोर्स अर्धसैनिक समूह (आरएसएफ) बीच झडपका घटना भैरहेका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको सीएनएनले उल्लेख गरेको छ । शनिबा। बिहानैदेखि दुई पक्षबीच झडप सुरु भएको हो ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।