फिल्म ‘बुलाकी’ दुई दिन मै हलबाट हटाइएको छ । शुक्रबार एक साथ तीन फिल्मसँग प्रदर्शनमा आएको फिल्मलाई कम शो दिइएको, प्राइम शो नदिइएको भन्दै निर्माण टिमले हलबाट ‘बुलाकी’ हटाएको हो ।
निर्देशक लक्ष्मण सुनारले हलबाट फिल्म हटाउने उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुलाकी चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं ।’
‘अब हाम्रो चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक/चौतारासमेत देखाउनेछौं । यसै पनि काठमाडौंले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यवहार दोहोर्या्एको छ,’निर्देशक सुनारले लेखेका छन्,’यो बीचमा नयाँ मेकरको रूपमा पाइला राख्दा पहिलो पाइलामै साथ, सहयोगसहित हौसला प्रदान गर्नुहुने यहाँ सम्पूर्णमा कृतज्ञ छौं । फिल्ममार्फत देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर दर्शकमाझ आउनेछु । म थाकेको मात्र हुँ हारेको छैन ।’
निर्माण टिमले फिल्म हटाउने निर्णय लिएको उल्लेख गर्दै ‘बुलाकी’की प्रमुख अभिनेत्री सुरक्षा पन्तले लेेखेकी छिन्,’बुलाकीलाई बिट मार्ने निर्माण पक्षको निर्णय भएको छ । आवश्यक परे अरु कुनै माध्यमबाट हेर्ने माहोल मिलाउने छौं । हेरेर साथ दिनुहुने सबैलाई धन्यवाद।’








