एजेन्सी । सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घन्टा युद्धविराम गर्न सहमत भएका हुन् ।
सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । संघर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ४८ घन्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन् ।
यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौं घाइते भएका छन् भने ठूलो संख्यामा विदेशीहरू पलायन भएका छन् ।
राष्ट्रसंघीय निकायले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् ।
हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् । बम विस्फोटले पानी आपूर्तिका पूर्वाधार क्षतविक्षत् भएका छन् । सुडानीहरू नाइल नदीको पानी पिउन बाध्य भएका छन् ।
घोषित युद्धविरामले उनीहरूलाई सहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ । विदेशी सरकारलाई पनि आआफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएका छन् ।






