भारतमा भयानक रेल दुर्घटना, २२३ जनाको मृत्यु, ९०० भन्दा बढी यात्रु घाइते

 एजेन्सी । भारतको ओडिशा राज्यको बालासोर जिल्ला नजिकै एउटा भयानक रेल दुर्घटना भएको छ । दुर्घटनामा परी २२३ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।

हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको  सुपरफास्ट रेल पनि ठोक्किएको थियो । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

दुर्घटनाप्रति भारत भ्रमणमै रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् ।