फिफा महिला विश्वकपको केही घण्टाअघि न्यूजिल्याण्डमा गोलीकाण्ड, तीनजनाको मृत्यु

एजेन्सी । महिला विश्वकप फुटबलको उद्घाटन खेल सुरु हुनु केही घण्टाअघि न्यूजिल्याण्डको अकल्यान्डमा गोलीकाण्ड भएको छ। घटनामा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। अरु छ जना घाइते भएका छन्। घाइतेमा प्रहरीसमेत रहेको जनाइएको छ।

स्थानीय समयअनुसार बिहान करिब साढे सात बजे सहरको मध्य भागमा रहेको एउटा भवनको निर्माणस्थलमा उक्त घटना भएको हो। प्रधानमन्त्री क्रिस हिपकिन्सले यो आक्रमणलाई आतंककारी घटनाका रुपमा नहेरिएको जनाएका छन्। साथै उनले फुटबल खेल निर्धारित समय तालिकाअनुसार नै अघि बढ्ने जनाएका छन्। गोलीकान्ड घटना एक जनाले गराएको र यसबारे प्रहरीले अन्य कसैको खोजी नगरेको उनले बताए।

घटनाको पछाडि कुनै निश्चित राजनीतिक अथवा वैचारिक उद्देश्य नदेखिएकाले यसबाट राष्ट्रिय सुरक्षामा कुनै जोखिमको स्थिति नभएको उनको भनाइ छ। प्रहरीले आक्रमणकारीले पम्प–एक्सन सटगन बोकेको र निर्माणस्थल भित्र छिरेर ठाउँठाउँ चहार्दै गोली चलाएको जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि भवनको माथिल्लो तलामा पुगेर लिफ्ट रहेको स्थानमा लुकेर उनले गोली चलाएको जनाइएको छ। पछि ती आक्रमणकारी मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल विश्वकप खेल्न पुगेका थुप्रै खेलाडीहरु बसेको स्थान नजिकै रहेको र केही खेलाडीले आफूहरु सुरक्षित रहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको रोयटर्सले उल्लेख गरेको छ। ​ यसैबीच सहरका मेयर वाने ब्राउनले फिफाका सबै पदाधिकारी र खेलाडीहरु सुरक्षित रहेको जानकारी दिएका छन्।

यो सहरको इडेन पार्क रंगशालामा  आज दिउँसो पौने १ बजे आयोजक राष्ट्र न्युजिल्याण्ड र नर्वेबीच  फिफा महिला विश्वकपको उद्घाट्न खेल हुँदैछ।