एजेन्सी । सुडानको खार्तूममा भएको हवाई आक्रमणमा परि कम्तीमा १६ जनाको मृत्यु गएको छ । खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा सर्वसाधारणको घरमा गोलाबारी भएको र कम्तीमा १६ जना नागरिकले ज्यान गुमाएका नेइवरहुड समूहलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन । सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो । सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको छ ।
सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ । स्थानीय बासिन्दा मोहम्मद मन्सुरले एएफपीसँग कुरा गर्दै विस्फोटबाट ध्वस्त भएका घरको भग्नावशेषबाट आठ जनाको शव निकाल्न आफूले सहयोग गरेको बताए । “भग्नावशेष नजिकैको घरमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ,” अर्की स्थानीय हागार युसुफले भनिन् ।






