एजेन्सी । इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।
चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ ।
‘युद्धविराम शुक्रबार बिहान ७ः०० बजेदेखि शुरु हुनेछ…र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४ः०० बजेसम्म सुम्पिइनेछ,’ प्रवक्ता माजेद अल-अन्सारीले उल्लेख गरेका छन् । शुरुमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ।
गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताएका बीबीसीले जनाएको छ । यसअघि बिहीवारदेखि सङ्घर्षविराम हुने र केही बन्धकहरूको अनि केही प्यालेस्टीनी बन्दीहरूको रिहाइ हुने भनिए पनि त्यसमा ढिलाइ भएको थियो ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ । इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।
गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ जसमा अधिकांश महिला र बालबालिका छन्।






