नेपालको संविधान २०७२ को धारा ७६ (२) अनुसार वा आ–आफ्नै तरिकाले व्याख्या गर्न मिल्ने प्रावधान अनुसार अथवा मुद्धा पनि परिसकेको अवस्थामा प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष ओलीलाई देशको प्रधानमन्त्रीको पदमा चौथो पटक आसिन भएकोमा सर्वप्रथमत सफल कार्यकालका लागि शुभकामना । यहाँका तीन कार्यकाल त्यति सुखद हुन नसकेता पनि यो कार्यकाल सुनौला अक्षरले इतिहास लेखिने गरी सफल होस् भन्ने पुनः शुभकामना ।
प्रधानमन्त्रीज्यू, मैले यो शुभकामना दिइरहँदा तपाईंलाई कार्यकाल सफल बनाउनका लागि केही सूत्रहरु पनि दिएको छु, यसलाई अक्षरसः नसके पनि अधिकांश सुझावहरु अनुसार कार्यान्वयन गर्नुभएमा यहाँको नाम नेपाली इतिहासमा स्वर्ण अक्षरले लेखिने व्यहोरा समेत अनुरोध गर्दछु ।
१. यहाँसँग रहेको सहयात्री दल नेपाली काङ्ग्रेससँगको सहकार्य सुखद बनाउनु यहाँको प्रमुख काम भएकोले गोप्य सम्झौता भनिएको सहमति अक्षरसः पालना गर्नुहोला ताकि अघिल्लो कार्यकालको जस्तो सम्झौता नै अलपत्र नपरोस् ।
२. अहिले कत्ति पनि विचार नमिल्ने दलहरुको सहकार्य भएको नभई लोकतन्त्र रक्षा र संविधान कार्यान्वयनका लागि लगभग विचार मिल्ने दल काङ्ग्रेस वा तपाईंको आफ्नो पार्टी एमालेभित्र रहेका खराब तत्व र भ्रष्टाचारी तत्वको कुरामा लाग्न थालेर न्यायिक शासन चलाउन कठिन परिस्थिति सृजना हुनसक्छ । तर तपाईंले सरकारको आयु जोडिएको दलसँग र आफ्नै दलसँग कसरी सहकार्य गरी सुशासन दिने हो त्यो कुराको वृहत् खाका तयार गरी अघि बढ्नुहोला ।
किनकि अहिले धेरै विवादित व्यक्ति तपाईं र सहयात्री दलमा आवद्ध छन् र ती व्यक्तिलाई संरक्षण गर्नकै लागि तपाईंहरुको गठबन्धन भएको मानसिकता नेपाली जनतामा परेकोले त्यसलाई कसरी चिर्ने हो, सुरुमै योजना बनाइ अघि बढ्नुहोला, नत्र मेटमणि चौधरीले भनेझैं तपाईंको गठबन्धन दीर्घ नहुने र प्रधानमन्त्रीको आयु पनि ४ महिना नटिक्ने निश्चित छ ।
३. नेपालका दल र सरकारप्रति जनताको भरोसा टुटेको धेरै भइसकेको छ । अब अन्तिम डोरी चुँडिन बाँकी रहेको बखत तपाईं प्रधानमन्त्री बन्ने सौभाग्य पाउनुभएको छ, यदि यसलाई अधिकतम सदुपयोग गर्दै न्यायिक सुशासन र विकासमा अग्रसर भई लाग्नुभयो भने जनताको मन पुनः फर्कने र समग्रमा लोकतन्त्रकै आयु बढ्ने हुँदा जनताको प्रधानमन्त्री बन्ने कसरत गर्नुहोला ताकि तपाईं, तपाईंको दल, सहयात्री दल र नेपाली जनता सबैको भलो होस् ।
४. तपाईं प्रधानमन्त्री नबन्दै धेरै जनताको तीव्र चाहना रहेको संविधान संशोधनको मुद्धा अघि सार्नु भएको छ तपाईंलाई धन्यवाद छ । तर संविधान संशोधन गर्न दुई तिहाइको समर्थन कानुनीरुपमा र लगभग संसदमा रहेका सबै दलको मौन समर्थन भए पनि व्यावहारिक रुपमा चाहिन्छ, यसमा हेक्का छ छैन ?
संविधानले सबैको अपनत्व बोकेको हुनाले संविधान जारी गर्दाकै बखत नजोडिएका मनहरुलाई पनि जोड्ने गरी संविधानको संशोधन पनि अपरिहार्य बनिसकेको छ तर यो चानचुने विषय नभएकाले यसको प्रस्ताव आउनु अघि नै व्यापक अन्तरक्रिया, छलफल, सेमिनार, सम्वाद, बहस आदि चलाएर निचोड निकाल्ने काम गर्नुहोला र मात्र संविधान संशोधनले मूर्तरुप लिन सक्ला, अन्यथा यही विषय नै सरकार ढाल्नका लागि पर्याप्त आधार बन्नेछ ।
५. देशमा अहिले जनसंख्या घट्दै गइरहेको र सक्रिय जनशक्तिको अभाव भइरहेको छ । मानिसले देशभित्रै बसेर कुनै प्रगति नहुने आंकलन गरी जन्मनुको प्रमुख उद्देश्य विदेश जानु हो जस्तो सोच्न थालेका छन् । नभन्दै प्रतिवर्ष ८ देखि १० लाख व्यक्ति औपचारिक बाटोबाटै विदेश जाने गरिरहेका छन् । ती व्यक्ति विदेश जाने मात्र होइन, यता नेपाली नागरिकता नै त्यागेर जाने, यताका घरजग्गा सबै बेचबिखन गर्ने र उतै घर बनाउने, बस्ने गर्न थाल्दा देशको ठुलो रकम विदेसिइरहेको अवस्था छ ।
देशभित्रै केही गर्ने वातावरण छैन । १२ कक्षासम्म अनिवार्य बनाएका कारण बाध्य भएर पढ्नु परेको अवस्था छ र त्यो भन्दा बढी पढ्ने कुनैपनि सोच कुनैपनि विद्यार्थीमा देखिँदैन । यस्तो हुनुका कारणमा देशभित्र रहेको महङ्गो र लुटपाटपूर्ण शैक्षिक पद्धति, लापरवाहपूर्ण पठनपाठन, बेरोजगार उत्पादन गराउने पाठ्यक्रम, कछुवाको गतिमा हुने परीक्षा प्रणाली र नतिजा प्रकाशन जस्ता आदि तत्वहरु नै जिम्मेवार छन् । अब यस्तो स्थितिमा कुन विद्यार्थीलाई यहीँ बस, पढ भनेर परामर्श गरेर ऊ यहाँ बस्छ ? बस्दैन नि, त्यसको लागि के सोच्नु भएको छ प्रधानमन्त्रीज्यू ? सकभर छिटो यतातिर सोच्न ढिला नगर्नुहोला र यसको मात्रै व्यवस्थापन गरी विदेश पलायन रोक्न सक्नुभयो भने तपाईंको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ ।
६. यतिबेला देश भ्रष्टाचारले चुर्लुम्म डुबेको छ । यहाँसम्म कि भ्रष्टाचार गर्नेको सूचीमा तपाईं स्वयम्को नाम पनि जनताले र अहिलेका भाइरल मेयर बालेन शाहले पनि पटकपटक उच्चारण गर्ने गरेका छन् । यसबाट स्वस्थकर तरिकाले सफाइ पाउने योजना बनाउनु भएकै होला । तपाईंको दलभित्र त्यस्ता धेरै नामहरु छन् जो भ्रष्टाचारीमा पर्दछन् ।
तपाईंको सहयात्री दलका पनि अधिकांश नेता कार्यकर्ता भ्रष्टाचारको लिस्टमा छन्, उनीहरुका कारण कतै तपाईंको भ्रष्टाचार निर्मूल गर्ने यात्रा अवरुद्ध त हुने होइन सोच्नु भएको छ ? फेरि तपाईंलाई चुल्ठे, मुन्द्रे, बलात्कारी, भ्रष्टाचारी र गुण्डागर्दीका संरक्षक भन्ने पनि आरोप छन्, यी आरोप मैले लगाएका होइनन् आम जनताका आवाज हुन् । कतै यस्ता व्यक्तिको पुनः संरक्षक बन्ने योजनामा हुनुहुन्छ भने त्यस्तो विचार परित्याग गरेर प्रधानमन्त्रीको कुर्सीमा बस्ने आँट गर्नुहोला ।
यदि यो बुँदाका सुझावहरुलाई मात्र पनि कार्यान्वयन गर्नुभयो र सुशासनको प्रत्याभूति दिनुभयो भने त तपाईं यो युगकै महापुरुष बन्नुहुनेछ नत्र जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान पुनः चरितार्थ बनाउन तपाईं प्रधानमन्त्री बन्दै हुनुहुन्छ भन्न सकिन्छ ।
७. आजभोलि प्रचलित शब्द सुन्ने गरिन्छ– फाइल खोल्दिम् ? यस अघि त्यस्ता फाइल खोल्ने त आँट भएन तर हल्ला बढी गर्ने पूर्व गृहमन्त्री रविले पनि फाइल खोल्छु, भ्रष्टाचारीलाई जेल हाल्छु, राजस्व असुल गर्छु र देशमा परिवर्तन गर्छु भनेर राजनीतिमा हाम फालेर गृहमन्त्री हुँदा पनि रहस्यमय फाइल खोल्न सकेनन् । आखिर ती फाइल कहाँ छन् र कसको सुरक्षामा ताला लगाएर राखिएका छन्, के तपाईंले ती फाइल खोल्न सक्नुहोला ? कि फाइल नै छैनन् हल्ला मात्र ठुला भएका हुन् ?
यदि फाइल छन् भने डटेर खोल्ने, अनुसन्धान गर्ने, कारबाही गर्ने र अनुसन्धान गर्नेलाई कुनै हस्तक्षेप नगर्ने, स्वतन्त्रतापूर्वक काम गर्न दिने मनसाय राख्नुहोला र फाइलहरु छैनन् भने कहिले, कुन केसमा, कसको संलग्नतामा, के भएको हो भन्ने हल्ला छ त्यसलाई सम्बोधन गर्न नयाँ फाइल बनाउन पनि पछि नपर्नुहोला । यदि तपाईंले यति गर्नुभयो भने कि त ती रहस्यमय सबै फाइल खुल्नेछन्, कि त बजारिया हल्ला सदाका लागि अन्त्य हुनेछन्, रहस्मय भाइरल फाइल काण्ड सेलाउने छ र तपाईं पनि अमर बन्नुहुने छ । प्रधानमन्त्रीज्यू तपाईंलाई यति काम गरेर अमर हुने इच्छा त पक्कै होला जुन दिनको प्रतीक्षामा हामी रहेका छौं ।
८. तपाईंलाई विभिन्न समयमा आरोप के लाग्छ भने तपाईं हावा कुरा गर्ने काम नगर्ने मानिसभित्र पर्नुहुन्छ । किनकि यस अघिको कार्यकालको प्रधानमन्त्री छँदै गर्दा तपाईंले रेल ल्याउने भनेर रेल कार्यालय बनाउनु भयो रेलको काम भएन, पानीजहाज चलाउने कुरा गर्नुभयो त्यो पनि चलेन, हावाबाट बिजुली निकाल्ने कुरा गर्नुभयो त्यो पनि भएन, घरघरमा पानीको पाइप जस्तै ग्याँसको पाइपको कुरा गर्नुभयो त्यो पनि भएन र अरु पनि केही उडन्ते जस्ता लाग्ने कुरा गर्नुभयो ती केवल कल्पना मात्र सावित भए काम भएन ।
के अहिले २ वर्षे प्रधानमन्त्री बन्दै गर्दा तपाईंले आफ्नो कार्यकालभित्र पूरा गर्न सकिने कुरा मात्र बोल्ने, बोले अनुसारका काम सबै गर्ने र भविष्यमा गर्न सकिने कामलाई पुष्ट्याईं सहित प्रष्ट अभिलेखीकरण गर्ने काम गर्न सक्नुहुन्छ ? यदि यसो गर्नुभयो र कुरा भन्दा काम धेरै गरेर सीमित स्रोत साधनको सदुपयोग गर्न सक्नुभयो भने त तपाईंको जीवन रहुञ्जेल तपाईं र तपाईंको दलका नेता बाहेक अर्को प्रधानमन्त्री बनाउने कुरा त नेपाली जनताले सोच्न पनि सक्ने छैनन् नि प्रधानमन्त्रीज्यू ?
अन्तमा, यहाँलाई देशको विषम अवस्थामा प्रधानमन्त्री जस्तो बिझाउने कुर्सीमा बस्न सफल हुनुभएकोमा शुभकामना छ ।
तर त्यो कुर्सीमा बस्दा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्दै आसन मिलाएर बस्नुहोला । त्यो निकै काँढेदार कुर्सी हो र त्यसमा बस्दा पक्कै सफलताको चुचुरोमा पुगेको आभास त होला तर कहिलेकाहीँ अल्टिच्युट लागेर निसासिन पनि सकिने सम्भावना भएको कुर्सीमा बसेको छु भन्ने ख्याल राख्नुहोला । त्यो कुर्सीबाट देशमा सुशासन, सुन्य भ्रष्टाचार, सुन्य सहनशीलता, उच्चतम विकास र चरम समृद्धि प्राप्त हुन सकोस्, एक हितैसी नेपाली जनताको तर्फबाट हार्दिक शुभेच्छा । अस्तु
डा. नरनाथ पाण्डे (प्राध्यापक : मध्यविन्दु बहुमुखी क्याम्पस, कावासोती, नवलपुर)