युरिक एसिडको समस्या र बच्ने उपायहरू

       डा. नरनाथ पाण्डे

हाम्रा गाउँघरतिर देखापर्ने रोग हातखुट्टाका जोर्नी दुख्ने वा सुन्निने समस्यालाई युरिक एसिड भनेर चिनिन्छ । धेरैजसो चिसो याममा बढी सताउने र दीर्घ रोगको चपेटामा परेमा सधैंभर दुःख दिने युरिक एसिडको समस्या धेरै व्यक्तिहरूमा देखिने गरेको स्वास्थ्य समस्या हो । युरिक एसिडको मात्रा रगतमा बढी देखिनुलाई चाहिँ चिकित्सकीय भाषामा हाइपरयुरिसेमिया (Hyperuricemia) भनिन्छ ।

नसर्ने रोगको चरम महामारी भइरहेको यो समयमा युरिक एसिडको समस्या पनि प्रमुख रुपमा रहेको पाइन्छ । यो समस्या विश्वव्यापी रूपमा देखापर्ने समस्या हो । उदाहरणका लागि ब्राजिलमा गरिएको एक अध्ययनमा युरिक एसिडबाट समस्याग्रस्त व्यक्तिमध्ये पुरुष ३१.९ प्रतिशत र महिला ४.८ प्रतिशतमा देखिएको थियो ।

यसैगरी चीनमा गरिएको अध्ययनमा पुरुष २२.८ प्रतिशत समस्याग्रस्त छँदा महिला १२.५ प्रतिशत मात्र पिडित थिए भने अमेरिकामा गरिएको राष्ट्रिय सर्वेक्षणमा पुरुष २१.२ प्रतिशत र महिला २१.६ प्रतिशत यो समस्याबाट पिडित थिए । नेपालमा भने यो समस्याको राम्रो अध्ययन भएको पाइँदैन तथापि नेपालगञ्ज मेडिकल कलेज बाँकेले सन् २०११ मा गरेको एक सर्वेक्षणमा पुरुष १८.९८ प्रतिशत र महिला २२.८६ प्रतिशतमा यो समस्या देखिएको थियो ।

त्यस्तै नोबेल मेडिकल कलेज बिराटनगरले सन् २०१२ मा गरेको सर्वेक्षणले ३०.०६ प्रतिशत पुरुषमा र २८.५७ प्रतिशत महिलामा यो समस्या देखिएको थियो भने लुम्बिनी मेडिकल कलेजले पनि सन् २०१२ मा एक हजार विरामीमा गरेको सर्वेक्षणमा २४.२ प्रतिशत पुरुष र २३.८ प्रतिशत महिलामा यो समस्या देखिएको पाइन्छ ।

यी अध्ययनबाट यो समस्या महिलामा भन्दा पुरुषमा बढी देखिने सम्भावना भएको देखिन्छ । साथै यी अध्ययनले युरिक एसिडको समस्या बढ्नुमा व्यक्तिको उमेर, लिङ्ग, खानपिनको बानी, केही खाद्यपदार्थ र पेय पदार्थ, व्यक्तिको जीवनशैली र विभिन्न रोगका कारणले पनि हुनसक्छ भन्ने निचोड निकालेका छन् ।

वास्तवमा युरिक एसिडको समस्या हुनु भनेको शरीरमा आन्तरिक क्रियाकलाप सञ्चालन गर्ने क्रममा प्रोटिनको मेटाबोलिज्म् (कोषहरूले प्रोटिनयुक्त खाद्यपदार्थ पचाउने प्रक्रिया) को प्रक्रियामा प्युरिन जस्ता तत्व निष्कासन प्रक्रियामा सन्तुलन नमिलेर वा जीवनशैलीमा आएको व्यापक परिवर्तनले पनि यस्तो समस्यालाई बढावा दिइरहेको छ भन्न सकिन्छ । त्यसकारण यस आलेखमा युरिक एसिड समस्याको परिचय र यसबाट बच्ने उपायहरूका बारेमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

युरिक एसिड समस्याको परिचय
युरिक एसिडको समस्या प्रोटिन तत्वसँग सम्बन्धित छ । जुन दाल, गेडागुडी र रातो मासुजस्ता खाद्यपदार्थबाट प्राप्त हुनेगर्छ । हाम्रो शरीरमा प्रोटिन तत्वमा पाइने केही हानिकारक वा अनावश्यक एमिनो एसिड (प्युरिन र युरिक एसिड जस्ता) को मात्रा रगतमा उच्च भइराखेमा वा प्रोटिनको मेटाबोलिज्म्मा समस्या आउँदा रगतमा युरिक एसिडको मात्रा बढ्ने गर्छ ।

यदि यस्तो अवस्था लामो समयसम्म भइराखेमा रक्तसञ्चारको क्रममा ती तत्व क्रिस्टल (मसिना बालुवाका कण जस्ता तत्व) मा परिणत भई जोर्नीमा थुप्रिन थाल्छन् र जोर्नीमा गम्भीर समस्या देखिने रोगलाई गाउट, एकप्रकारको बाथरोग वा सर्वसाधारणले भन्दा युरिक एसिड भनेर चिनिन्छ । यो समस्या हुँदा हात वा खुट्टाका औंलाका जोर्नी, कुहिना, कुम, ढाडका जोर्नी आदिमा पीडाबोध हुनेहुँदा यो समस्या भएका व्यक्तिहरू निकै चिन्तित र बेचैन देखिन्छन् ।

प्रोटिनयुक्त खाद्यपदार्थ खाँदा प्रोटिनमा पाइने विभिन्न एमिनो एसिड (प्रोटिनको सूक्ष्म तत्वहरू) शोषण भइ रक्तसञ्चारमा जाने र रक्तसञ्चारबाट शरीरका विभिन्न कोषहरूसम्म पुगेर मेटाबोलिज्म् भई अनावश्यक तत्व पिशाबबाट बाहिर निस्कनुपर्ने हुन्छ । तर कसैकसैमा यस्ता अनावश्यक तत्व पिशाबबाट बाहिर निस्कन नसक्दा वा युरिक एसिडका तत्वहरूको मात्रा बढेर रगतमा मात्र घुमिरहँदा वा शरीरबाट निष्कासन हुन नसक्दा देखिने यो समस्या दीर्घरोगमध्ये एक जटिल समस्या हो ।

युरिक एसिड समस्याका कारणहरू

  • वंशाणुगत गुणका कारण वा शरीरको आन्तरिक प्रणालीमा समस्या आउँदा शरीरका कोषले प्रोटिन पचाउन (मेटाबोलिज्म्) नसक्नु र पचेको अनावश्यक प्रोटिनका तत्वलाई पनि निष्कासन गर्न नसक्नु ।
  • रातो मासु, गेडागुडी वा प्रोटिनयुक्त खाद्यपदार्थ र केही तरकारीहरूको बढी मात्रामा सेवन गर्नु ।
  • शरीरले प्रोटिनको मेटाबोलिज्म् गर्ने क्रममा उत्पादन भएका प्युरिन, युरिया, युरिक एसिड, अक्जालेट जस्ता तत्व रक्तसञ्चारको क्रममा वा निष्कासनको क्रममा समस्या आइ रगत मार्फत जोर्नीमा पुगेर क्रिस्टलको रुपमा जम्मा भएर बस्नु ।

युरिक एसिडको समस्या भएमा देखापर्ने लक्षण तथा चिन्हहरू
युरिक एसिड सम्बन्धी समस्या भएमा हात वा खुट्टाका औंलाका जोर्नीहरू बढी प्रभावित भई रातो हुने, सुनिने र निकै दुखाई हुँदै पछिपछि बाङ्गाटिङ्गा कुरुप देखिन्छन् । यी बाहेक युरिक एसिडको समस्या भएमा देखापर्ने अन्य लक्षण तथा चिन्हहरू यसप्रकार छन्–

  •  हात वा खुट्टाका जोर्नीहरू सुनिने, जोर्नी बिग्रने, चलाउँदा दुख्ने र प्याजी रङ्गका हुने ।
  • अति दुखेको बखत निकै पीडा महसुस् हुने र सामान्य ज्वरो समेत आउनसक्ने ।
  • सुरुवातमा एकदुईवटा जोर्नी दुख्ने र पछि बढ्दै गई उग्ररुप लिन्छ र दीर्घ रोगको खतरा रहन्छ ।
  • यस्तो रोग लाग्ने व्यक्तिलाई मृगौलाको रोग लाग्ने र पत्थरी समेत पर्नसक्छ ।
  • रोगले अति ग्रस्त पार्दै जाँदा औंलाहरू चलाउन नसक्ने भई बिस्तारै कुरुप देखिन्छन् ।

युरिक एसिड समस्याको रोकथाम र नियन्त्रणका उपायहरू

  • बढी प्रोटिनयुक्त खाना नखाने (गेडागुडी, रातो मासु आदि) ।
  • प्युरिन बढी पाइने खाद्यपदार्थ सामुद्रिक खाना, फुलगोभी, पालुङ्गो, कुरिलो, च्याउ जस्ता तरकारी समेत नखाने ।
    ड्ड मद्यपान, धूम्रपान गर्दै नगर्ने किनकि यसले गर्दा युरिक एसिडको मात्रा बढ्नुका साथै मृगौलाबाट युरिक एसिड फिल्टर गर्ने क्षमता हराउँछ ।
  • गुलिया पदार्थ निरन्तर सेवन नगर्ने किनकि यसबाट मोटोपन, मधुमेह रोग र अन्य मेटाबोलिज्म्सँग सम्बन्धित समस्या देखापर्छ जसले युरिक एसिड बढाउन सहयोग गर्छ ।
  • बढी अमिलो तथा अम्लिय पदार्थ नखाने तर भिटामिन सी पाइने सुन्तला, स्ट्रबेरी, ब्रोकाउली खाने र पि.एच. सन्तुलन गर्न एप्पल साइडर भिनेगार, कागती पानी, चेरी आदि खान सकिन्छ ।
  • जीवनशैली व्यवस्थापन गर्ने ।
  • तौल नियन्त्रण गर्ने ।
  • प्रशस्त पानी वा झोलिलो खाना खाने किनकि यसले मृगौलाबाट युरिक एसिडका कणहरू पिशाबसँगै बाहिर फाल्न सहयोग गर्छ ।
  • रगतमा युरिक एसिडको मात्रा नियमित परीक्षण गरी खानपानमा नियन्त्रण गर्ने ।
  • चिकित्सकको परामर्श अनुसार युरिक एसिड घटाउने उपाय अपनाउने ।
    युरिक एसिडको समस्यामा केही खाद्यपदार्थहरू खान हुने र केही खान नहुने हुन्छन् । खासगरी खानपिनमा सुधार गर्ने वा जीवनशैलीमा व्यवस्थापन गर्न सकेमा युरिक एसिडको समस्या समाधान हुनसक्छ र यसबाट पर्ने अन्य असरहरू पनि देखापर्दैनन् । अतः युरिक एसिडको समस्यामा खानुपर्ने वा खान हुने खाद्यपदार्थ यसप्रकार छन्–

खान मिल्ने खाद्यपदार्थहरू

  • पानी : प्रशस्त पानी सेवन गर्दा युरिक एसिडका कणहरू बाहिर फाल्न सहयोग हुने, जलवियोजन हुन नदिने जसले गर्दा बाथ र मृगौलाको पत्थरी समेत हुनसक्दैन ।
  • कम चिल्लो दुग्धपदार्थ : कम चिल्लो दुध, दही र चिज सेवन गर्नाले बाथको जोखिम घट्ने तथा युरिक एसिडको तह समेत घट्न मद्धत पुग्छ ।
  • केही फलफूल र तरकारीहरू : भिटामिन सी पाइने फलफूलहरू जस्तै चेरी, बेरी, अमला, टमाटर, घण्टी खुर्सानी र ब्रोकाउलीले युरिक एसिडको मात्रा घटाउने र कोषमा एन्टिअक्सिडेण्ट् आपूर्ति भइ कोष बलियो बन्न मद्धत पुग्छ ।
  • होल ग्रेन : खैरो चामल, जौ, ओट्स जस्ता होल ग्रेनमा फाइबर तत्व बढी पाइने हुँदा शरीरबाट युरिक एसिड फ्याँक्न सहयोग पुग्छ ।
  • पातलो मासु : कुखुरा वा टर्कीको पातलो मासु, अण्डा (यसमा प्रोटिन पाइने भएता पनि प्युरिन तत्व कम पाइने र कोषको लागि अत्यावश्यक एन्टिअक्सिडेण्ट तत्व पाइने भएकाले), तोफु जस्ता चिजको सेवन गर्दा अत्यावश्यक एमिनो एसिड पनि प्राप्त हुने र युरिक एसिडको समेत तह घट्न मद्धत पुग्छ ।

खान नमिल्ने खाद्यपदार्थहरू

  • गुलियो पेय वा मिठाईं : यस्ता खाद्यपदार्थले युरिक एसिडको मात्रा बढाइदिनुका साथै मोटोपन, मधुमेह र अन्य मेटाबोलिज्म्सँग सम्बन्धित समस्या बढाइदिन्छन् ।
  • मद्यपान : मद्यपानको सेवनले युरिक एसिड उत्पादा बढ्ने मात्र नभइ निष्कासन गर्ने प्रक्रियामा समेत अवरोध ल्याउने हुँदा यसको सेवन गर्नै हुँदैन ।
  • उच्च प्युरिन पाइने खानाहरू : रातो मासु, सामुद्रिक खाना, च्याउ, पालुङ्गो, कुरिलो जस्ता खाद्यपदार्थले युरिक एसिडको मात्रा बढाइदिनुका साथै गाउट समेत हुनसक्ने हुँदा खानुहुँदैन । यस्ता खाद्यपदार्थ खानैपर्ने अवस्था आएमा प्रतिदिन १०० ग्राम भन्दा बढी सेवन गर्नुहुँदैन ।

अन्तमा,
असाध्यै पीडा गराउने दीर्घ रोग युरिक एसिड हुनुमा अधिकांश जीवनशैलीसँग सम्बन्धित कारण जिम्मेवार हुने भएकाले स्वस्थकर जीवनशैली अवलम्बन गर्ने, खानपिनमा आफूलाई कुन खानाले बढी मात्रामा युरिक एसिड बढाउँछ भन्नेकुरा पत्ता लगाई त्यस्ता खाद्यपदार्थ नखाने, यो समस्या समाधानमा मुख्य भूमिका पानीको हुनेहुँदा सामान्य भन्दा अलिक बढी र धेरैपटक पानी पिउनु उत्तम हुन्छ ।

नियमित योग अभ्यास गरी पसिना निकाल्ने हो भने पनि युरिक एसिडको मात्रा घट्ने र जम्मा भएका युरिक एसिडका कणहरू र मृगौलाको पत्थरी समेत निष्कासन हुन सहयोग पुग्छ । यसका साथै बेलाबखत रगत परीक्षण गराई स्वास्थ्य अवस्थाको लेखाजोखा गर्नुपर्छ र आवश्यक परेमा वा बढी मात्रामा युरिक एसिड भएमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ । यति व्यवहार अपनाउन सकेमा युरिक एसिड जस्तो दीर्घ समस्याबाट बाँच्न सकिन्छ । अस्तु
-लेखक मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् ।