खिर खाने दिनको ऐतिहासिक महत्व र यसका फाइदाहरु

लेखक: डा. नरनाथ पाण्डे

आज श्रावण १५ गते । नेपाली सांस्कृतिक चलन अनुसार यो दिनलाई खिर खाने दिन भनेर मनाउने गरिएको छ । यो दिवसको इतिहास त्यति पुरानो छैन । राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ गतेलाई खिर खाने दिन वा खिर दिवसका रुपमा मनाउने निर्णय गरेपछि खिर दिवस भनेर मनाउन थालिएको हो । यो दिनको विशेष महत्व खिर दिवस तथा आध्यात्मिक कारणले पनि रहेको छ र यो एक ऐतिहासिक दिन पनि हो ।

नेपाली परम्परामा यो दिनलाई अति महत्वको प्राथमिकतामा राखेर घरपरिवार, ईष्टमित्र र चेलीबेटी जम्मा गरेर संयुक्तरुपमा खिर खाने चलन रहेको छ । नेपाली समाजमा असार १५ मा दहीचिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १ मा खिचडी र माघ १५ मा मालपुवा जस्ता खाद्यपदार्थ खाने चलन छ ।

यी चालचलनहरुले विशेष महिनामा विशेष खाना खाने र त्यसबाट शारीरिक तन्दुरुस्ती कायम गर्न मद्धत पुर्याउने गरेको पाइन्छ । मौसम अनुसार खाइने यस्ता खाना स्वादिष्ट हुने, पाचन प्रणालीमा कुनै खराबी नहुने र संस्कृतिको जगेर्ना हुने भएकाले भावी पुस्तालाई समेत यसको जानकारी र ज्ञान हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

आजका बच्चाले खिर के हो, चामल के हो, कसरी बन्छ, किन यस्तो खाना खाने भन्नेकुरा बुझेको छैन । किनकि यस्ता खानाको ठाउँमा केक, बिस्कुट, पाउरोटी, पिज्जा, बर्गर, माछा मासुले ओगटेका छन् भने दुध, दही, मही आदिको ठाउँ कोक, जुस र अनेक ड्रिङ्क्सले ओगटेका छन् ।

अहिले त प्राकृतिक खानाको स्वाद जिब्रोले थाहा पाउनै छाडेको अवस्था छ । यस्तो अवस्थामा शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक तथा संवेगात्मक स्वास्थ्यमा असर परी व्यक्ति दीर्घ रोगको चपेटामा परिरहेको र नेपालकै अनागरिक बनेको देख्न सकिन्छ ।

यसै सन्दर्भमा हालसम्म नेपालको संस्कृति जोगाउँदै आइरहेको हाम्रो पुस्ताले विशेष चाडपर्व र विशेष परिकारका बारेमा भावी पुस्तालाई बुझाउनका लागि समेत ध्यान दिनुपर्छ । त्यसकारण आज साउन १५ गतेको ऐतिहासिक महत्व, खिर खाने प्रचलन र यसका फाइदाहरुका बारेमा प्रष्ट पार्ने उद्देश्यले यो आलेख तयार गरिएको छ ।

खिर खाने चलन कहिलेदेखि आयो भन्ने सन्दर्भमा कुरा गर्दा खिरको प्रचलन चौधौं शताब्दीमा चीनबाट सुरु भएको हो भन्ने इतिहास पाइन्छ । चीन पछि सार्क राष्ट्रहरु हुँदै पश्चिमी देशहरुमा समेत यसको प्रचलन सुरु भएको मानिन्छ । दक्षिण भारत, मालदिभ्स र थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दुधबाट खिर बनाएर खाने गरिन्छ । पूर्वीय दर्शनमा साउन महिनालाई शिवको महिना मानिने र शिवलाई दुध तथा दुग्धजन्य पदार्थ मनपर्ने भएकाले खिरको प्रचलन आएको हो भन्ने किम्बदन्ती पाइन्छ ।

त्यस्तै, प्राचीन कालदेखि नै पितृकार्यमा समेत दुध चढाउने, दुधबाट बनेको पायस खाने चलन चल्दै आएको र हालसम्म यो चलन देख्न सकिन्छ । शास्त्रमा श्रीकृष्ण भगवानकै पालादेखि खिर खाने चलन चलिआएको र खिरलाई पवित्र प्रसादका रुपमा मन्दिरमा समेत चढाउने र खाने चलन चलेको हो भन्नेकुरा पाइन्छ । यसबाट खिरको निकै ऐतिहासिक परिचर्चा भएको देखिन्छ ।

खिरलाई नेपाली शब्दकोषमा दुधमा पकाइएको भात वा दुधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस र तस्मै भनी उल्लेख गरेको पाइन्छ । त्यस्तै संस्कृत भाषामा खिर शब्द क्षीरमा भन्ने शब्दबाट बनेको हो । यसको अर्थ दुध र अन्नबाट बनेको परिकार भन्ने बुझिन्छ । हुनपनि खिर बनाउँदा दुधमा चामल राखेर त्यसमा चिनी, घिउ, नरिवल, किसमिस, काजु, छोकडा तथा अन्य विशेष मसलाहरु राखेर तयार गरिन्छ ।

साउनमा प्रशस्त हरियो घाँसपात पाइने र पशुले पनि प्रशस्त दुध दिने हुँदा दुधको अभाव हुँदैन । यसरी दुध घिउ प्रशस्त पाइने, खेत रोपेर सकिएको समय, पानी परिरहेको र स्वच्छ वातावरण भएको समयमा खिर खाने चलन आफैमा राम्रो छ । बच्चा, वृद्ध र बिरामी समेतले खिर सजिलै पचाउन सक्ने हुँदा समस्या आउँदैन र खिरले पोषक तत्व प्रदान गर्छ, जसले वर्षायाममा लाग्नसक्ने विभिन्न रोगहरु विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ ।

खिर चामल, साबुदाना, सेवइ, मकै र गाजर जस्ता खाद्यपदार्थ दुधमा राखी तयार गर्न सकिन्छ जुन पोषणका दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । राम्रो दुधमा ६० प्रतिशतसम्म क्यालोरी पाइने, पोटासियम, क्याल्सियम, फस्फोरस, क्लोरिन, सोडियम, म्याग्नेसियम जस्ता खनिज पदार्थ, भिटामिन, चिल्लो पदार्थ र प्रोटिन पाइने हुँदा स्वास्थ्यका लागि यसरी दुधमा अन्न मिसाइ खिर बनाएर खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुन्छ ।

यसका साथै यसमा राखिने विभिन्न मसलाहरुले खिर थप स्वादिलो र पौष्टिक समेत बन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै वर्षायाममा लाग्ने विभिन्न सङ्क्रामक रोग लाग्नबाट सुरक्षा प्रदान गरी शरीर ह्ृष्टपुष्ट राख्न मद्धत पु¥याउँछ । यसका साथै साउनमा मासु, माछा, मदिरा नखाइ व्रत बस्ने र आँप, नासपाती, कटहर जस्ता फलफूल र खिर जस्ता सात्विक भोजन खाँदा थप पौष्टिक पदार्थ प्राप्त हुने गर्दछ जुन शरीरका लागि थप सकारात्मक हुन्छ ।

कतिपय अवस्थामा खिर खान नहुने समस्या पनि हुन्छ । मधुमेह हुँदा गुलियो खिर र बढी कार्बोहाइड्रेट खान हुँदैन, ग्यास्ट्राइटिस हुनेहरुले धेरै खान हुँदैन, पाचन प्रणाली कमजोर भएका बखत, बच्चाले दिसापखाला गरिरहेको भए खिर खुवाउनु हुँदैन । कतिपयलाई दुधको ल्याक्टोजले असर गरी पेटमा समस्या ल्याउने र अपच हुने समस्या छ भने त्यस्ता व्यक्तिले दुधमा पकाएको खिर सेवन गर्नु हुँदैन तर नरिवल वा अन्य दुधमा पकाएको खान मिल्छ । यी अवस्था बाहेक अन्यथा अन्य सबैलाई खिर खान हुन्छ ।

खिर खाँदा बढी चिनी, बढी घिउ, तरकारी र अचारसँग खान हुँदैन । किनकि चिनी सबैभन्दा हानिकारक तत्व हो जुन मोटा मानिस र मधुमेह भएकाले खान हुँदैन । घिउ मुटुरोगी, मोटा मानिस र पेटका रोगीहरुले खानु हुँदैन । त्यस्तै दुधसँग नुन मिसाएर कदापि खानु हुँदैन किनकि नुन र दुध, अनि दुध र अमिलो पदार्थ सेवन गर्दा विरुद्ध आहार हुन्छ । यसले पेटमा गडबडी ल्याउने, अपच हुने, पेट दुख्ने र उल्टी आउने गराउन सक्छ । यदि यतिकुरा विचार गरेर खिर खाइयो भने त्यसले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र शरीरमा आवश्यक पौष्टिक तत्व समेत प्राप्त हुन्छ ।

अन्तमा, साउन १५ लाई खिर खाने दिवसको रुपमा एक दिन मात्र मनाएर खिर खानु भन्दा खिरलाई कहिलेकाहीँ जुनसुकै मौसममा खाने तालिका बनाउन सकिन्छ । बच्चा, वृद्ध र रोगी व्यक्तिलाई आवश्यकता अनुसार खानाको रुपमा खिर सेवन गराएमा बिरामी छिटो निको हुन सहयोग हुन्छ । बच्चा र वृद्धलाई खिर पचाउन सजिलो हुनुका साथै आवश्यक सबै किसिमका पौष्टिक तत्व प्राप्त हुनेहुँदा रोग विरुद्धको प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले खिरलाई नियमित खानाको रुपमा सेवन गर्नु उचित हुनेछ । अस्तु

डा. नरनाथ पाण्डे, कावासोती–८, नवलपुर
(जीवनशैली व्यवस्थापनमा विद्यावारिधि, प्राध्यापक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक)