कावासोती, असोज ४ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ फलफूल चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक नाबालिकाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।
फलफूल चोकमा बाटो क्रस गर्दै गरेको लु ७० प ८२८४ नं.को मोटरसाइकललाई भैरहवाबाट काठमाण्डौंतर्फ जादै गरेको प्रदेश ०१-०२-००१ख ८०७७ नम्बरको ट्रकले ठक्कर दिँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अर्घाखाँची घर भई हाल कुढौली बस्ने कावासोती-११ का वडासचिव २५ वर्षीया २५ पुष्पा चौहान र ३२ वर्षीय सुर्य बि.सि.की १७ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
दुर्घटनामा बालिकाका बुवा आमा घाइते भएका छन् । वेहोस अवस्थामा रहेकी पुष्पाको नवलपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको पण्डितले जानकारी दिए ।
प्रहरीले दुबै सवारी साधन र ट्रक चालक बाराको सिमरा-१४ बस्ने वर्ष ३० का सौरभ खतिवडा नियन्त्रणमा लिएको जनाएको छ ।









