बोमलाल गिरी
नवलपुर, असोज ५ गते । नवलपुरको कावसोतीमा निर्माणधिन नमूना सदरमुकाम स्थलबाट निर्माण सामग्री चोरी गर्ने दुई जनालाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ ।
१२ लाख ७५ हजार ७५० रुपैयाँ बराबरका निर्माण सामग्री चोरी गर्ने दुई जनालाई पक्राउ गरी चोरी सम्बन्धि कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा कावासेती नगरपालिका ३ का २४ वर्षीय अनिस पुन र २९ वर्षीय विजय परियार रहेका उहाँले जानकारी दिनुभयो । सदरमुकाम निर्माण कम्पनी बुद्ध हिमाली जेभिको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पुन र परियारले निर्माण सामग्री चोरी गरी कावासोती १६ डण्डाको कवाडी सामान संकलन गर्ने जय श्री ट्रेडर्समा बिक्रि गरेको बयान दिएका छन् । प्रहरी निरीक्षक खड्काका अनुसार उक्त कवाडी संकलन गर्ने ट्रेडर्सबाट तीन हजार ८२० किलो फलामको रड, फलामको डबल ज्याकी पाइप १५० थान, फलामको सिंगल ज्याकी पाइप सात थान, विभिन्न लम्बाईको एमएस पाइप ८० थान, फलामको डबल लक १२ थान, फलामको पिलर फर्मा १२ थान र मालजाम एक थान बरामद गरिएको छ ।
समाचार सेवाले सदरमुकाम निर्माण स्थलबाट एक वर्ष अघि २०८२ साल भदौ १८ गते सदरमुकाम निर्माण स्थलबाट निर्माण सामग्री चोरी भएको समाचार छापेको थियो । एक वर्षपछि घटनाका दोषी पक्राउ परेका हुन् । यसमा अन्य ठूलो गिरोह संगलग्न भएको हुन सक्ने भन्दै अनुसधान गरिरहेको प्रहरी निरीक्षक खड्काले बताए ।
चौधरी कन्स्ट्रक्सन प्रा.लि. रौतहट र समानन्तर बुद्ध हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंले पहिलो चरणमा ५ अर्ब २१ करोडमा सदरमुकाममा भवन निर्माणको ठेक्का लिएका छन् । बुद्ध हिमालीले २०८२ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा १० लाख मूल्य बराबरको ६५ बण्डल रड निर्माण सामग्री चोरी भएको भन्दै अनुसन्धान गरिदिन निवेदन दिएको थियो । त्यतिबेला उक्त ठेकेदार कम्पनीले आफ्नै स्टाफले रड चोरि गरेको आरोप लगाए पनि पुन र परियार भने उनका स्टाफ नरहेको खुलेको छ ।
संघीय सरकार अन्तरगतको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र ४ वटा एकिकृत भवन निर्माणको काम चलिरहेको छ ।
देशकै नमुना भनिएको सदरमुकाम स्थलमा संघीय सरकारका २२ र प्रदेश अन्तरगतका ११ कार्यालय रहने छन् । त्यस अतिरिक्त कावासोती नगरपालिकाको भवन, २५ हजार दर्शक अट्ने फुटबल रंगशाला र १५ हजार दर्शक क्षमताको क्रिकेट मैदान पनि बनाइने छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुैपयाँ लाग्ने अनुमान गरिएको छ ।








