काठमाडौं । ग्यास सिलिन्डर पड्किँदा घाइते भएकी कांग्रेस नेता डा चन्द्र भण्डारीको आमाको निधन भएको छ । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान मृत्यु भएको हो ।
अस्पताल स्रोतले बिहान १०ः५७ मा उनको मृत्यु भएको जनाएको छ । बुद्धनगरस्थित निवासमा बिहीबार राति ग्यास सिलिन्डर पड्किँदा भण्डारीसँगै उनकी आमा घाइते भएकी थिइन् । उनको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।
घाइते नेता भण्डारीको भने उपचार जारी छ । फोक्सो, टाउकोलगायत जटिल समस्या देखिएपछि उनलाई चिकित्सकले भारत लैजान सुझाव दिएका छन् । चिकित्सकको सल्लाहपछि उनलाई भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।
उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको हो ।
भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।









