- काठमाडौं । खाना पकाउन ग्यास सिलिन्डरको प्रयोग बढ्दो छ । नेपालभर झण्डै १० लाख हाराहारीमा ग्यास सिलिन्डर रहेको अनुमान छ । ग्यास प्रयोग गर्न जति सहज छ, उत्तिकै संवेदनशील र खतरनाक पनि छ । सानो असावधानीले मात्रै पनि यसबाट मानिसको ज्यान जानसक्छ ।
हामीले गर्ने साना साना गल्तीले दुर्घटना निम्तिन सक्ने भएकाले प्रयोगमा सधैं चनाखो हुनुपर्छ । त्यसो त, हामीले प्रयोग गर्ने ग्यास सिलिन्डर कस्तो हुने भन्ने मापदण्ड बनाइएको छ । कुनै अप्रिय घटना नहोस् भन्नका लागि यस्तो मापदण्ड लागू गरिएको हो । मापदण्डमा ग्यास सिलिन्डर पुनः भरेर प्रयोग नहुने अवस्था उल्लेख गरिएको छ ।
यस्ता मादपण्ड पालना भए नभएको नियमन गरी कारबाही गर्ने निकाय नेपाल आयल निगम हो । निगमले ग्यासको सुरक्षित र मर्यादित प्रयोगका लागि एलपी ग्यास विनियमावली, २०६५ नै जारी गरेको छ । तर निगमले यसप्रति जुन तहमा क्रियाशीलता देखाउनुपर्ने हो, गरेको छैन ।
निगमले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम इमानदारितापूर्वक नगर्दा गैरजिम्मेवार ग्यास उद्योगीले उपभोक्तामाथि खेलबाड गर्दै सुरक्षा खतरा भएका संवेदनशील ग्यास सिलिन्डर उपभोक्ताको भान्छामा पुगेका छन् । परिणामतः अप्रिय घटनाहरू हुँदै आएका छन् । जसका कारण बिहीबार मात्र कांग्रेस सांसद डा चन्द्र भण्डारीकी आमाको निधन भएको छ भने भण्डारी गम्भीर घाइते भएका छन् ।
नेपाल आयल निगमका अनुसार, देहायको अवस्थामा ग्यास सिलिन्डर प्रयोग गर्नु खतरनाक हुन्छ ।
१. १४.२ केजीको रातोवाहेक अन्य रंगको सिलिण्डर भएमा ।
२.भल्भमा कुनै पनि चिल्लो पदार्थ भएमा
३. सिलिण्डरमा तरलीकृत पेट्रोलियम ग्यासवाहेक अन्य पदार्थ भएमा
४. पुनः जाँच गर्नु पर्ने मिति नाघेका सिलिण्डरहरु भएमा
५. खाली सिलिण्डरको तौल सिलिण्डरमा उल्लिखितभन्दा बढी भएमा
६. ग्यास सिलिण्डरको पिँध र घाँटी काटी जोडेको सिलिण्डर
भएमा ।
७. सिलिण्डर कुच्चिएको वा रिपेयरिङ्ग गरेको भएमा ।









