पोखरा । बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् ।
उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् । सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।
सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालू आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुआत गरेको उनको भनाइ छ ।
गाउँपालिकाले हरेक सुत्केरीलाई एउटा लोकल भाले, एक माना घ्यू र एक क्रेट अण्डा वितरण गर्दै आएको छ । ‘सुत्केरी पोषणा’ गाउँपालिकाअन्तर्गतका सबै सुत्केरी महिलाले प्राप्त गर्नेछन् । यस वर्ष ३९ जना सुत्केरीलाई पोषण वितरण गरिनेछ । गाउँपालिकाले सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।









