धरानमा ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा ८ जना घाइते

सुनसरी । धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरी प्रमुख प्रभु ढकालले जानकारी दिए ।

उनका अनुसार धरान १७ को आदर्श चोकस्थित स्थानीय सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास लिक भएपछि उनीहरूले ग्यास डिलरका मान्छे बोलाएका थिए । उनीहरू आएर हेर्दै गर्दा एक्कासि आगोको लप्का उठेको थियो ।

त्यसक्रममा घाइते हुनेहरूमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, ग्यास डिलरका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन् ।

उनीहरूमध्ये ६५ वर्षीया वृद्धा रामकुमारी सबैभन्दा गम्भीर रहेको प्रहरी भनाइ छ । उनीहरू सबैको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।